काठमाण्डौ । युक्रेनले हङ्गेरी र स्लोभाकिया निर्यात हुने रुसी तेल पाइपलाइनमा आक्रमण गरेको छ । बुधबार युक्रेनले रुसको मध्य भाग ताम्बोभमा रहेको ड्रुज्बा ओयल पाइपलाइनमा आक्रमण गरेको हो ।
हङ्गेरी र स्लोभाकियामा तेल आपूर्ति गर्ने पाइपलाइनमा युक्रेनले गरको यो पाँचौ आक्रमण हो । उक्त आक्रमणमा स्वचालित रिमोट कन्ट्रोलको प्रयोग गरिएको युक्रेनी मिडियाले लेखेका छन् ।
यद्यपी स्लोभाक पाइपलाइन अपरेटर र हङ्गेरियन आयल एण्ड ग्यास कम्पनीले भने ड्रुज्बा ओयल पाइपलाइनबाट सामान्य अवस्थामा जस्तै तेलको आपूर्ति भईरहेको बताएका छन् । यस विषयमा रुसको कुनै आधिकारिक धारण भने सार्वजनिक भएको छैन ।
उक्त पाइपलाइनलाई लक्षित गर्दै युक्रेनले यसअघि मार्चमा एकपटक, अगस्टमा दुईपटक र सेप्टेम्बरमा एकपटक आक्रमण गरेको थियो । रुसले युक्रेनमाथि निरन्तर आक्रमण जारी राखेकाले प्रतिक्रिया स्वरुप रुसी उर्जालाई निशाना बनाउन सुरु गरिएको युक्रेनले जनाएको छ । रुसले तेल बिक्री गरेर कमाएको नाफा युक्रेन युद्धका लागि खर्च गर्ने गरेको युक्रेनको आरोप छ ।
सन् २०२२ मा रुस र युक्रेनबीच सुरु भएको युद्धपश्चात युरोपियन युनियनले रुससँगको सम्बन्ध अन्त्य गरेपनि हङ्गेरी र स्लोभाकियाले भने रुसबाट निरन्तर तेल खरिद गरिरहेका छन् ।

