काठमाण्डौ । बंगलादेशकी पूर्व प्रधानमन्त्री र बंगलादेश नेशनलिस्ट पार्टीकी प्रमुख बेगम खालिदा जिया ८० वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि गम्भीर स्वास्थ्य समस्याबाट पीडित उनी ढाकास्थित एभरकेयर अस्पतालमा उपचाररत थिइन्। चिकित्सकहरूले उनलाई आज बिहान करिब ६ बजे मृत घोषणा गरेका हुन्।
खालिदा जियालाई कलेजोको एड्भान्स सिरोसिस, मधुमेह, गठिया र मुटु–छातीसम्बन्धी रोग जस्ता गम्भीर स्वास्थ्य समस्याहरू थिए। उनलाई उपचारका लागि लन्डन लैजाने तयारी गरिएको थियो, तर अस्पतालबाट विमानस्थलसम्म पुर्याउने अनुमति नपाएपछि सम्भव हुन सकेन।
बेगम खालिदा जियाको जन्म १९४५ अगस्ट १५ मा दिनाजपुरमा भएको थियो। उनी बंगलादेशका पूर्व राष्ट्रपति जियाउर रहमानकी पत्नी थिइन्। श्रीमानको १९८१ मा हत्या भएपछि उनी सक्रिय राजनीतिमा प्रवेश गरी बंगलादेश नेशनलिस्ट पार्टीको नेतृत्वमा आइन।
उनी बंगलादेशकी पहिली महिला प्रधानमन्त्री हुन् र तीन पटक यस पदमा रहिन् ।

