काठमाण्डौ । भेनेजुएलाका शासक निकोलास माडुरो निकट भविष्यमा न्युयोर्कस्थित संघीय अदालतमा उपस्थित हुन सक्ने भएका छन्। फक्स न्युजले जनाएअनुसार माडुरोले आउँदो सोमबार म्यानहटनको संघीय अदालतमा प्रारम्भिक उपस्थिती जनाउने सम्भावना छ।
हालको चरणमा समय तालिका परिवर्तन हुन सक्ने बताइए पनि स्रोतहरूका अनुसार उनको अदालत उपस्थिती “सम्भवतः सोमबार” नै हुनेछ। अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै फक्स न्युजले उक्त जानकारी सार्वजनिक गरेको हो।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार भेनेजुएलामा अमेरिकी सेनाले कारबाही गरेको र त्यस क्रममा माडुरो तथा उनकी पत्नीलाई नियन्त्रणमा लिएर देशबाहिर ल्याइएको दाबी गरेका छन्। अमेरिकी महान्यायाधिवक्ता पाम बोन्डीले माडुरो र उनकी पत्नीविरुद्ध न्युयोर्कको साउदर्न डिस्ट्रिक्ट अदालतमा पहिले नै अभियोग दर्ता भइसकेको पुष्टि गरेकी छन्।
घटनाक्रमले अन्तर्राष्ट्रिय राजनीतिमा ठूलो तरंग ल्याउने अनुमान गरिएको छ भने माडुरोको सम्भावित अदालत उपस्थितीमाथि विश्व समुदायको चासो बढ्दै गएको छ।

