वाशिङ्टन । अमेरिकाका रक्षामन्त्री पिट हेगसेथ (Pete Hegseth) ले इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्ने प्रयास गरेको आरोप लगाएका छन्।
पेन्टागनमा पत्रकारहरूसँग कुरा गर्दै उनले इरानले ट्रम्पमाथि हत्या प्रयास गरेको दाबी गर्दै त्यसमा संलग्न समूहका नेतालाई अमेरिकी सेनाले मारिदिएको बताए।
उनका अनुसार मंगलबार अमेरिकाले ट्रम्पमाथि हत्या प्रयास गर्ने एकाइका नेताको खोजी गरेर हत्या गरेको हो।
यसअघि सन् २०२4 मा अमेरिकी सरकारले ट्रम्पको हत्या गर्ने कथित षड्यन्त्रसँग सम्बन्धित आरोपमा अफगान नागरिक फरहाद शाकेरीविरुद्ध मुद्दा दायर गरेको थियो।
अमेरिकी न्याय विभागका अनुसार त्यतिबेला ५१ वर्षीय शाकेरीलाई ट्रम्पलाई मार्ने योजना तयार पार्ने जिम्मा दिइएको थियो। अमेरिकी अधिकारीहरूले शाकेरी त्यतिबेला इरानमै रहेको विश्वास गरिएको बताएका थिए।
म्यानह्याटन अदालतमा दायर आपराधिक उजुरीमा अभियोजनकर्ताहरूले इरानको रिभोल्युशनरी गार्डका एक अधिकारीले शाकेरीलाई ट्रम्पमाथि निगरानी राख्ने र हत्या योजना तयार पार्न निर्देशन दिएको आरोप लगाएका थिए।
-BBC

