काठमाण्डौ । म्याग्दीबाट स्वतन्त्र उम्मेदवार डा. महाविर पुन प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार उनले २२ हजार ८५० मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले ७ हजार ९१९ मत पाए। म्याग्दीमा मतगणना प्रक्रिया सम्पन्न भइसकेको छ भने औपचारिक घोषणा भने मुख्य निर्वाचन अधिकृतको कार्यालयले गर्न बाँकी रहेको छ।
डा. पुन आफ्नै जन्मथलोबाट निर्वाचन लड्न मैदानमा उत्रिएका थिए। उनले शिक्षा क्षेत्रको सुधारका लागि नीतिगत पहल गर्ने तथा विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्ने नीति ल्याउने प्रतिबद्धता व्यक्त गर्दै चुनावी प्रतिस्पर्धा गरेका थिए।
यसैगरी नेपाली कांग्रेसका कर्णबहादुर भण्डारीले ६ हजार ८८४ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिस्ट पार्टीका अर्जुन थापाले ३ हजार ५२९ मत पाएका छन्। म्याग्दीमा कुल ८६ हजार ३९७ मतदाता रहेकोमा ४६ हजार २१५ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।

