काठमाण्डौ । रवि लामिछाने र बालेन शाहबीच सुधन गुरुङलाई गृहमन्त्री बनाउने विषयमा सहमति भएको दाबी गरिएको छ ।
रास्वपास्थित एक उच्च स्रोतका अनुसार बिहानैदेखि लामिछाने र शाहले मन्त्रीहरुको नाम फाइनल गर्ने प्रयासलाई तीव्र बनाएका छन् । उनीहरु काठमाण्डौको एक होटलमा निरन्तर छलफलमा छन् । सो क्रममा बालेन शाहको प्रस्तावअनुसार सुधन गुरुङलाई गृहमन्त्री बनाउन लामिछाने लगभग तयार भएका स्रोतले दाबी गरेको छ ।
यसअघि रास्वपाकै उपसभापति डीपी अर्याललाई गृहमन्त्री बनाउने प्रयास भएको थियो । तर, बालेनले जेनजी आन्दोलनका मुख्य अभियन्ता तथा आफू र रविलाई मिलाउनका लागि सूत्रधारको भूमिका खेलेका सुधनलाई गृहमन्त्रालय बनाउन खोजेका हुन् । यसअघि बालेनले सुनिल लम्साललाई गृहमन्त्रीको रुपमा अगाडि सारेका थिए । तर, लम्सालले आफूले गृहमन्त्रालय चलाउन नसक्ने बताएपछि विकल्पको रुपमा बालेनकै तर्फबाट सुधनको नाम अगाडि आएको हो ।
यसैबीच, बालेनले प्रधानमन्त्रीको सपथ लिएलगत्तै कानूनमन्त्रीको रुपमा सोविता गौतमले पनि सपथ लिनेछिन् । रवि लामिछानेले सोवितालाई टेलिफोन गरी कानूनमन्त्रीका लागि तयार रहन भनेका छन् । यसअघि गौतमलाई स्वास्थ्यमन्त्री बनाउन खोजिएको थियो । कतिपय नेताहरुले गौतम सभामुख बन्नसक्ने सम्भावना पनि व्यक्त गरेका थिए ।
उता, गृहमन्त्री नपाएका उपसभापति डीपी अर्याललाई सभामुख बनाउने सहमति भएको स्रोतको भनाई छ ।
यस्तै, शीर्ष नेतृत्वबीच अर्थ मन्त्रीमा डा. स्वर्णिम वाग्ले र परराष्ट्र मन्त्रीमा शिशिर खनाललाई पठाउने सहमति भएको समेत स्रोतले जनाएको छ ।
हिजो बेलुकाको छलफलमा भने बालेन शाहले अर्थमन्त्रीको रुपमा उनी निकट अर्थविद डा. कृष्णहरि बुढाथोकीको नाम अगाडि सारेका थिए । छलफलका क्रममा स्वर्णिमलाई चुनावअघि नै भावी अर्थमन्त्रीको रुपमा घोषणा गरिसकिएकोले लास्ट आवरमा अर्को पात्रलाई अगाडि सार्न नहुने लाइनमा छलफल भएको थियो । यस्तै, बालेनले आफूले भनेको पात्र सुधनलाई गृहमन्त्री बनाउन रवि तयार भएपछि अर्थमन्त्रीको रुपमा डा. स्वर्णिम वाग्लेको नाममा उनले सहमति जनाएका स्रोतहरुले दाबी गरेका छन् ।
अरु मन्त्रीहरुको नाम पनि फाइनल हुने चरणमा रहेको बताइएको छ ।

