काठमाण्डौ । नयाँ राजनीतिक अध्याय सुरु भएसँगै प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार आज पहिलो पटक क्याबिनेट बैठकमा जुट्दैछ। केहीबेरमै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्ने बैठकलाई लिएर ‘सरप्राइज निर्णय’को चर्चा तीव्र बनेको छ।
पदभार ग्रहण सकिएलगत्तै मन्त्रीहरू धमाधम सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय पुगिरहेका छन्। बिहान मात्रै रामचन्द्र पौडेलले बालेनलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए भने नवनियुक्त मन्त्रीहरूले पनि आजै शपथ लिएका छन्।
शपथपछि सबै मन्त्रीहरूले आ-आफ्नो मन्त्रालयमा पुगेर पदभार सम्हालिसकेका छन्। तर, रोचक पक्ष के छ भने अधिकांश मन्त्रीहरूले पदभार ग्रहणका क्रममा ‘पहिलो निर्णय’ सार्वजनिक गरेका छैनन्। यसले पहिलो क्याबिनेटबाटै ठूला र एकैपटक घोषणा हुने संकेत देखिएको छ।
स्रोतका अनुसार बैठकमा जनतासँग प्रत्यक्ष जोडिएका सेवा सुधार, प्रशासनिक सरलीकरण, र तत्काल प्रभाव पार्ने निर्णयहरू आउने सम्भावना छ। त्यसैले पनि पहिलो क्याबिनेट बैठकलाई ‘गेम चेन्जर’को रूपमा हेरिएको छ।
सरकार गठन हुनुअघिदेखि नै जनताले तत्काल महसुस गर्ने खालका सरप्राइज निर्णय गर्ने भन्दै तत्काल लागत तथा आर्थिक व्ययभार नबढाउने खालका ५ वटा कामको सूचि प्रधानमन्त्री कार्यालयले मन्त्रालयहरुलाई मागेको थियो । विभिन्न मन्त्रालयलहरुले त्यस्ता सूचि दिइसकेका र मुख्यसचिवले बालेन शाहको टिमसँगको सल्लाहमा आजको क्याबिनेटबाट गर्न सकिने निर्णयहरुको खाका समेत बनाइसकेको बताइएको छ । जनतालाई सरप्राइज दिने गरी पहिलो क्याबिनेटबाट गरिनसक्ने निर्णयको विषयमा केहीबेरअघि नवनियुक्त प्रधानमन्त्री बालेन शाहले रास्वपाका सभापति रवि लामिछानेसँग समेत छलफल गरेका छन् ।
अब सबैको नजर एउटै प्रश्नमा केन्द्रित छ-बालेन सरकारको पहिलो निर्णय कति साहसी र कति प्रभावकारी होला?

