काठमाण्डौ । प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकार गठनसँगै मन्त्रीहरू आक्रामक रूपमा ‘एक्सन मोड’मा देखिएका छन्।
त्यसको सुरुआत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अवैध अनलाइन बेटिङ एपहरूविरुद्ध कडा कदम चाल्दै गरेको छ।
सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाल दूरसञ्चार प्राधिकरणलाई २४ घण्टाभित्र सबै बेटिङ एप र सम्बन्धित वेबसाइट बन्द गर्न निर्देशन दिएका छन्। निर्देशनलगत्तै प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूलाई आदेश दिँदै बन्द प्रक्रिया सुरु गरिसकेको जनाएको छ।
यसअघि मन्त्रिपरिषद्ले नै अवैध सट्टेबाजी नियन्त्रण गर्ने निर्णय गरेपछि मन्त्री तिमिल्सिना तुरुन्तै कार्यान्वयनमा उत्रिएका हुन्। सरकारले यसलाई अवैध आर्थिक कारोबार र पुँजी पलायन रोक्ने अभियानको रूपमा अघि बढाएको छ।
सरकारको १०० बुँदे कार्ययोजनाअन्तर्गत यो कदम चालिएको हो, जसले डिजिटल क्षेत्रमा कडाइ सुरु भएको संकेत दिएको छ। मन्त्री तिमिल्सिनाले मन्त्रालयभित्र पनि दैनिक रिपोर्टिङ र परिणाममुखी कामको संस्कृति लागू गर्ने स्पष्ट सन्देश दिएका छन्।

