काठमाण्डौ । निर्वाचित सरकार बनेपछि परिवर्तनको अपेक्षा गरेका युवापुस्ता फेरि सडकमा उत्रिन थालेका छन्। एक समय ‘जेनजी’ उत्साह र विद्रोहको जगमा स्थापित भएको नयाँ राजनीतिक वातावरणसँग आशा बाँधिएको थियो, तर अहिले त्यही जेनजी पुस्ता सरकारकै निर्णयविरुद्ध प्रदर्शनमा उत्रिएको देखिएको छ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा शनिबार माइतीघर मण्डलामा राष्ट्रिय जेनजी नागरिक अभियान र कुशासनविरुद्धको महाअभियानले प्रदर्शन आयोजना गरेको हो।
चर्को इन्धन मूल्यका कारण सर्वसाधारणको दैनिकी थप कष्टकर बनेको भन्दै प्रदर्शनकारीहरूले सरकारसँग तत्काल मूल्य समायोजन गरी जनतालाई राहत दिन माग गरेका छन्।
प्रदर्शनमा सहभागीहरूले पेट्रोलियम पदार्थको मूल्यवृद्धिले यातायातदेखि दैनिक उपभोग्य वस्तुसम्मको खर्च बढाएर आम नागरिकमाथि थप आर्थिक भार परेको बताएका छन्। उनीहरूले सरकारलाई मूल्य नियन्त्रणतर्फ गम्भीर बन्न र जनतामैत्री निर्णय लिन दबाब दिन यो विरोध कार्यक्रम गरिएको स्पष्ट पारेका छन्।

