काठमाण्डौ । युक्रेनको सशस्त्र बलको जनरल स्टाफले रुसले सन् २०२२ फेब्रुअरी २४ देखि सुरु गरेको पूर्णस्तरीय आक्रमणपछि हालसम्म १३ लाखभन्दा बढी सैनिक क्षति व्यहोरेको दाबी गरेको छ।
अप्रिल १७ मा सार्वजनिक गरिएको विवरणअनुसार, रुसले कुल १३ लाख १६ हजार ७० सैनिक गुमाएको जनाइएको छ, जसमा पछिल्लो २४ घण्टामा मात्रै करिब १ हजार क्षति भएको उल्लेख छ। युक्रेनी पक्षले क्षति भन्नाले मारिएका, घाइते, बेपत्ता तथा पक्राउ परेकालाई समेट्ने जनाएको छ।
यस्तै, रुसले युद्धका क्रममा ११ हजार ८७० ट्याङ्क, २४ हजार ४०० बख्तरबन्द सवारी, ९० हजारभन्दा बढी सवारी तथा इन्धन ट्याङ्कर, ४० हजार १६० तोप प्रणाली, १ हजार ७३९ बहु(रकेट प्रक्षेपण प्रणाली, १ हजार ३४९ वायु प्रतिरक्षा प्रणाली गुमाएको युक्रेनको दाबी छ। साथै, ४३५ विमान, ३५० हेलिकोप्टर, २ लाख ४३ हजारभन्दा बढी ड्रोन, ३३ जहाज तथा दुई पनडुब्बी नष्ट भएको जनाइएको छ।
युक्रेनले आफ्नो क्षतिको पूर्ण विवरण सार्वजनिक नगरे पनि राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले यसअघि कम्तीमा ५५ हजार युक्रेनी सैनिक युद्धमा मारिएको बताएका थिए। साथै, धेरै सैनिक अझै बेपत्ता रहेको जनाइएको छ।
स्वतन्त्र पश्चिमी विश्लेषणहरूमा भने दुवै पक्षको क्षति उच्च रहेको उल्लेख छ। सेन्ट्रल फर स्ट्राटिजिक एण्ड इन्टरनेशनल स्टडीजका अनुसार, युक्रेनले ५ लाखदेखि ६ लाखसम्म कुल क्षति व्यहोरेको हुनसक्छ, जसमध्ये १ लाखदेखि १ लाख ४० हजारसम्म सैनिक मारिएको अनुमान गरिएको छ।
यद्यपि, युद्धकालीन अवस्थाका कारण दुवै पक्षबाट सार्वजनिक गरिएका तथ्याङ्क स्वतन्त्र रूपमा पुष्टि गर्न कठिन हुने विश्लेषकहरू बताउँछन्।

