काठमाण्डौ । नेपालका प्रशोधित पानी उद्योगीहरूले उत्पादन लागत तीव्र रूपमा बढेको भन्दै पानीको मूल्य वृद्धि गर्ने निर्णय गरेका छन्। बोतल, जार, क्याप तथा प्याकेजिङ सामग्रीको मूल्य उल्लेखनीय रूपमा बढेपछि उद्योगीहरू पुरानै मूल्यमा टिक्न नसक्ने अवस्थामा पुगेका हुन्।
उद्योगीहरूका अनुसार कच्चा पदार्थको मूल्य ४० प्रतिशतभन्दा बढीले बढेको छ भने इन्धन खर्चले ढुवानी र वितरण लागत अझै बढाएको छ। यसले समग्र उत्पादन लागतमा प्रत्यक्ष असर पारेको उनीहरुको भनाई छ ।
पश्चिम एसियामा जारी द्वन्द्वले प्लास्टिकजन्य कच्चा पदार्थको आपूर्ति र मूल्यमा असर पारेको उद्योगीहरूको भनाइ छ। पेट्रोलियम पदार्थमा आधारित यस्ता सामग्री महँगिँदा नेपालजस्तो आयात–निर्भर देशमा यसको प्रभाव अझ गहिरो देखिएको छ।
उद्योगीहरुले काठमाण्डौ उपत्यकाभित्र जारको पानीको अधिकतम खुद्रा मूल्य ४७ रुपैयाँबाट बढाएर ६० रुपैयाँ पुरयाउने प्रस्ताव गरेका छन्। बोतल पानीको मूल्य पनि ४ रुपैयाँले बढाएर २० रुपैयाँ बनाउने तयारी छ।
उपत्यका बाहिर भने ५ रुपैयाँले मूल्य बढाउँदै बोतल पानी २५ रुपैयाँ र जार पानी ६० रुपैयाँ कायम गर्ने योजना अघि सारिएको छ।
नेपाल पानी उद्योग महासंघले पनि अहिलेकै मूल्यमा प्रशोधित पानी बिक्री गर्न नसकिने जनाएको छ । कच्चा पदार्थको मूल्य ४० प्रतिशतभन्दा बढीले आकासिएको र इन्धनको भाउ पनि बढेका कारण पुरानै दरमा पानी बिक्री गर्नू नसकिने महासंघको ठहर रहेको छ ।

