काठमाण्डौ । सहरी विकास मन्त्रालयले जोखिमयुक्त क्षेत्रमा बसोवास गरिरहेका नागरिकको सुरक्षालाई ध्यानमा राख्दै स्थानान्तरण कार्यलाई तीव्रता दिएको जनाएको छ। आइतबार जारी गरिएको प्रेस विज्ञप्तिमा मन्त्रालयले नागरिकलाई सुरक्षित स्थानमा सार्ने प्रक्रिया व्यवस्थित र सहज रूपमा अघि बढिरहेको उल्लेख गरेको छ।
मन्त्रालयका अनुसार सहारा नभएका तथा वास्तविक समस्यामा परेका नागरिकका लागि अस्थायी रूपमा होटल तथा लजमा बसोबास र खानपानसहितका आधारभूत सुविधा उपलब्ध गराइएको छ। स्थानान्तरणका क्रममा कुनै समस्या उत्पन्न भएमा वा थप सहयोग आवश्यक परेमा सम्बन्धित क्षेत्रमा खटिएका सुरक्षाकर्मीसँग सम्पर्क गर्न नागरिकलाई अनुरोध गरिएको छ।
स्थानान्तरण प्रक्रियालाई प्रभावकारी बनाउन नागरिकका सामान ढुवानीको जिम्मेवारी नेपाल प्रहरीले लिएको छ। सामानहरू सुरक्षित रूपमा त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा संकलन गरी विस्तृत अभिलेख राखिने र त्यसपछि सम्बन्धित व्यक्तिलाई यातायातको माध्यमबाट तोकिएको होटल वा लजमा पुर्याइने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले नागरिकको धनमालको सुरक्षामा पूर्ण प्रतिबद्धता जनाउँदै स्थानान्तरण कार्यमा सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गरेको छ।
साथै, जोखिमयुक्त क्षेत्रबाट सुरक्षित स्थानमा पुगेपछि नागरिकले तत्कालका लागि आवश्यक खाना र आवासको अभाव नहुने पनि मन्त्रालयले स्पष्ट पारेको छ।

