काठमाण्डौ । मल्टीपर्पस फाइनान्सले चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीको नाफामा ७५.४१ प्रतिशतको गिरावट आएको छ । कम्पनीले यो अवधिमा ५३ लाख २३ हजार खुद नाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले २ करोड १६ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।
खुद ब्याज आम्दानीमा आएको कमी र सञ्चालन खर्चमा बढोत्तरी आउदा कम्पनीको नाफा घट्न पुगेको हो ।
कम्पनीले तेस्रो त्रैमाससम्म ५ करोड ३१ लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा १८.०९ प्रतिशतले कम हो । कम्पनीको सञ्चालन खर्च ४ करोड १५ लाखबाट बढेर ५ करोड २९ लाख पुगेको छ ।
कम्पनीको खुद सञ्चालन आम्दानी पनि ७ करोड ४० लाखबाट घटेर ६ करोड १२ लाखमा सीमित बन्न पुगेको छ । अघिल्लो आवमा ५.३६ प्रतिशत रहेको कम्पनीको खराब कर्जा अनुपात बढेर ७.४४ प्रतिशत पुगेको छ ।
६१ करोड रुपैयाँबराबरको चुक्तापूँजी भएको कम्पनीको रिटेन्ड अर्निङ कोषमा १ करोड ६३ लाख र रिजर्भमा ९ करोड ९ लाख सञ्चित रहेको छ । अघिल्लो आवमा भने कम्पनीको रिटेन्ड अर्निङ १ करोड २१ लाख र रिजर्भमा १३ करोड ६० लाख रहेको थियो ।
कम्पनीको निक्षेप संकलन र कर्जा प्रवाह दुवै बढेको छ । अघिल्लो आवमा ३ अर्ब १७ करोड रहेको निक्षेप संकलन ३ अर्ब ६४ करोड र १ अर्ब ८८ करोड रहेको कर्जा प्रवाह २ अर्ब १५ करोड पुगेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) १.१६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११९.३१ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ७२६.१२ रुपैयाँ, मूल्य आम्दानी अनुपात ५७६.८१ गुणा र तरलता अनुपात ४७.३५ प्रतिशत कायम भएको छ ।

