काठमाण्डौ । सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छासम्बन्धी बन्दीप्रत्यक्षीकरण मुद्दामा विपक्षी पक्षलाई २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको छ।
न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले आज जारी गरेको आदेशमा केन्द्रीय अनुसन्धान ब्यूरो, काठमाण्डौलाई सूचना म्याद प्राप्त भएको मितिले बाटोको म्यादबाहेक २४ घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालय मार्फत बन्दीसहित उपस्थित भई लिखित जवाफ पेस गर्न निर्देशन दिएको हो।
उक्त आदेश व्यवसायी गोल्छाकी पत्नी सीमा गोल्छाले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइका क्रममा आएको हो। निवेदनमा गोल्छालाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै तत्काल थुनामुक्त गर्न माग गरिएको छ।
अदालतले रिट निवेदनको एक–एक प्रति नक्कल संलग्न राखी विपक्षीहरूका नाममा सूचना म्याद जारी गर्न तथा तोकिएको अवधिभित्र लिखित जवाफ प्राप्त भए वा अवधि समाप्त भएपछि थप कारबाही अघि बढाउने जनाएको छ।
साथै, अनुसन्धान भइरहेको भनिएको सम्बन्धित फाइलसमेत झिकाउन आदेशमा उल्लेख गरिएको छ।

