काठमाण्डौ । नेपालको प्रमुख निर्यातजन्य वस्तुमध्ये एक चिया निर्यातमा पछिल्लो समय देखिएको जटिल अवस्था तथा भारतीय बजारमा उत्पन्न प्रक्रियागत अवरोधप्रति नेपाल फ्रेट फरवार्डर्स एशोसिएसनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
एशोसिएसनले जारी गरेको विज्ञप्तिअनुसार नेपालबाट भारत निर्यात गरिएका तयारी चिया भारतीय पक्षले प्रयोगशाला परीक्षण तथा विभिन्न प्राविधिक प्रक्रियाका नाममा लामो समयसम्म गोदाममा रोक्दा नेपाली चिया उद्योगको उत्पादन, बिक्री–वितरण तथा निर्यात श्रृंखला प्रभावित भएको छ।
विज्ञप्तिमा विशेषगरी पूर्वी नेपालका चिया उद्योगहरू बन्द हुन थालेको तथा सयौं चिया बगान प्रभावित भएको उल्लेख गरिएको छ। नेपालभर करिब १२० वटा चिया उद्योग, हजारौं किसान तथा ५० देखि ६० हजार श्रमिकको जीविकोपार्जन यस क्षेत्रसँग प्रत्यक्ष रूपमा जोडिएको भन्दै चिया उद्योगको गतिविधि ठप्प हुँदा निर्यात व्यापार, विदेशी मुद्रा आर्जन तथा समग्र अर्थतन्त्रमा नकारात्मक असर पर्ने चेतावनी दिइएको छ।
नेपालको कुल चिया निर्यातको ठूलो हिस्सा भारतीय बजारमा निर्भर रहेको अवस्थामा भारतीय बजारमा सिर्जना भएको अवरोधले चिया उद्योगी र निर्यातकर्तामात्र नभई समग्र नेपाली अर्थतन्त्रलाई समेत प्रतिकूल प्रभाव पारेको एशोसिएसनको भनाइ छ।
एशोसिएसनले चिया क्षेत्रले नेपालको निर्यात प्रवर्द्धन तथा व्यापार सहजीकरणमा पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै नेपाल सरकारसमक्ष यस विषयलाई उच्च प्राथमिकतामा राखी तत्काल कूटनीतिक पहल गर्न आग्रह गरेको छ।
त्यसैगरी, भारतीय सम्बन्धित निकायहरूसँग उच्चस्तरीय संवादमार्फत नेपाली चिया निर्यातमा देखिएका प्रक्रियागत तथा प्राविधिक अवरोध यथाशीघ्र हटाई व्यापारलाई सहज, सरल र निर्वाध बनाउन आवश्यक पहल गर्न पनि अनुरोध गरिएको छ।
नेपाल फ्रेट फरवार्डर्स एशोसिएसनले नेपालको निर्यात व्यापार तथा आपूर्ति श्रृंखलाको सुदृढीकरणका लागि आफू सदैव प्रतिबद्ध रहेको जनाउँदै वर्तमान जटिल परिस्थितिमा चिया उद्योग, निर्यातकर्ता तथा सम्पूर्ण सरोकारवालाप्रति ऐक्यबद्धता व्यक्त गरेको छ।

