काठमाण्डौ । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दै विकास, सुशासन र नागरिकमुखी सेवा प्रवाहलाई प्राथमिकतामा राखेको छ।
महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले शुक्रबार आयोजित नवौँ नगरसभामा आगामी वर्षका लागि तयार पारिएको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
महानगरपालिकाले ‘महानगरवासीको सर्वोपरि हित’ भन्ने मूल नारालाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम तयार गरिएको जनाएको छ।
स्थानीय बासिन्दाको जीवनस्तर उकास्ने, सार्वजनिक सेवाको गुणस्तर सुधार गर्ने तथा दिगो र समावेशी विकासलाई अघि बढाउने लक्ष्यसहित विभिन्न क्षेत्रलाई प्राथमिकतामा राखिएको छ।
प्रस्तुत नीति तथा कार्यक्रममा विकास निर्माणका कामलाई थप प्रभावकारी बनाउने, पूर्वाधार विस्तार तथा स्तरोन्नतिलाई निरन्तरता दिने, सडक, ढल, सार्वजनिक सुविधा तथा सहरी व्यवस्थापनलाई व्यवस्थित गर्ने योजना समेटिएको छ।
तीव्र सहरीकरणका कारण बढ्दो चुनौतीलाई सम्बोधन गर्दै व्यवस्थित, सुरक्षित र नागरिकमैत्री सहर निर्माणमा विशेष जोड दिइएको छ।
त्यसैगरी, ललितपुरको ऐतिहासिक पहिचानसँग जोडिएका कला, संस्कृति तथा सम्पदाको संरक्षण, संवर्द्धन र प्रवर्द्धनलाई पनि उच्च प्राथमिकता दिइएको छ।
विश्व सम्पदा सूचीमा सूचीकृत तथा स्थानीय महत्वका मठमन्दिर, पाटी–पौवा, बहाल, चैत्यलगायत सांस्कृतिक सम्पदाको संरक्षण तथा पुनःनिर्माणका कार्यक्रमलाई निरन्तरता दिइने महानगरपालिकाले जनाएको छ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनलाई पनि नीति तथा कार्यक्रमको प्रमुख आधार बनाइएको छ।
भूकम्प, आगलागी, बाढी, डुबान तथा अन्य प्राकृतिक तथा मानव सिर्जित विपद्को प्रभाव न्यूनीकरण गर्न पूर्वतयारी, उद्धार तथा राहत व्यवस्थालाई थप सुदृढ बनाउने योजना अघि सारिएको छ।
नागरिकलाई छिटो, सहज र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले सेवा प्रवाहलाई प्रविधिमैत्री र पारदर्शी बनाउने नीति पनि कार्यक्रममा समावेश गरिएको छ।
महानगरले डिजिटल प्रविधिको प्रयोग बढाउँदै प्रशासनिक प्रक्रियालाई सरलीकरण गर्ने तथा सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार गर्ने लक्ष्य राखेको छ।
यसका साथै सुशासन, पारदर्शिता, जवाफदेहिता र सहभागितामूलक विकासलाई संस्थागत गर्दै स्थानीय सरकारप्रति नागरिकको विश्वास अझ मजबुत बनाउने प्रतिबद्धता पनि नीति तथा कार्यक्रममा व्यक्त गरिएको छ।
महानगरपालिकाले आगामी वर्षका कार्यक्रमहरू नागरिकको आवश्यकता र अपेक्षालाई केन्द्रमा राखेर कार्यान्वयन गर्ने जनाएको छ।
प्रमुख महर्जनले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले ललितपुरलाई सांस्कृतिक सम्पदाले सम्पन्न, व्यवस्थित, सुरक्षित र आधुनिक शहरका रूपमा विकास गर्ने दीर्घकालीन सोचलाई अघि बढाएको महानगरपालिकाको दाबी छ।

