काठमाण्डौ । काठमाण्डौ उपत्यकामा कार्यरत ट्राफिक प्रहरी कर्मचारीलाई ड्युटीका क्रममा सवारी चालक तथा अन्य सेवाग्राहीसँग हात नमिलाउन निर्देशन दिइएको छ।
काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जारी गरेको परिपत्रमा चेकजाँच तथा अन्य ड्युटीका समयमा ट्राफिक प्रहरी र सेवाग्राहीबीच हात मिलाइएको दृश्यबारे सामाजिक सञ्जाल तथा सर्वसाधारणबाट विभिन्न गुनासा प्राप्त भएकाले यस्तो व्यवस्था लागू गरिएको उल्लेख गरिएको छ।
मंगलबार जारी परिपत्रअनुसार अबदेखि कुनै पनि ट्राफिक प्रहरी कर्मचारीले ड्युटीका क्रममा सवारी चालक, यात्रु वा अन्य सेवाग्राहीसँग हात मिलाउने कार्य गर्न पाउने छैनन्। सेवाग्राहीप्रति सम्मान तथा शिष्टाचार प्रकट गर्न भने टाढैबाट नमस्कार गर्ने अभ्यास अपनाउन निर्देशन दिइएको छ।
उक्त परिपत्र ट्राफिक प्रहरी परिसर, वृत्त, प्रभाग तथा अस्थायी ट्राफिक प्रहरी पोस्टहरूमा समेत लागू हुने जनाइएको छ।

