काठमाण्डौ । विश्वव्यापी पुनर्बीमा बजारमा उपलब्ध पूँजी ऐतिहासिक उच्चस्तरमा पुगेपछि सन् २०२६ को जुन १ र जुलाई १ को पुनर्बीमा नवीकरणमा बीमा कम्पनीहरूले सम्पत्ति विपत्ति पुनर्बीमामा दोहोरो अंकको प्रिमियम दर कटौती तथा थप अनुकूल सर्तहरू प्राप्त गरेका छन्।
विश्वव्यापी व्यावसायिक सेवा कम्पनी एओनको प्रतिवेदनअनुसार पुनर्बीमाको विश्वव्यापी माग १० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। यो वृद्धि पुनर्बीमकहरूको विस्तारित उत्पादन तथा अमेरिकी बीमा कम्पनीहरूले आफ्नो जोखिम सुरक्षालाई थप मजबुत बनाउन अतिरिक्त पुनर्बीमा खरिद गर्न देखाएको बढ्दो रुचिका कारण भएको जनाइएको छ।
प्रतिवेदनअनुसार सन् २०२६ मार्च ३१ सम्म विश्वव्यापी पुनर्बीमा पूँजी ७९० अर्ब अमेरिकी डलरको कीर्तिमानी स्तरमा पुगेको छ। वैकल्पिक पूँजीको निरन्तर विस्तारका कारण बजारमा प्रशस्त क्षमता उपलब्ध भएकाले विशेषगरी अमेरिका, साथै ल्याटिन अमेरिका र अष्ट्रेलिया–न्युजिल्यान्डका बीमकहरूले पुनर्बीमा व्यवस्था गर्न सहज वातावरण पाएका छन्।
एओनका प्रमुख रणनीति अधिकृत जर्ज अटार्डले स्थिर, पर्याप्त पूँजीयुक्त तथा प्रतिस्पर्धी पुनर्बीमा बजारले बीमा कम्पनीहरूलाई आफ्नो जोखिम रणनीतिअनुसार पूँजी व्यवस्थापन गर्न तथा तथ्यांक, विश्लेषण र एआई को प्रयोगमार्फत दीर्घकालीन वृद्धि हासिल गर्न सहयोग पुग्ने बताए।
प्रतिवेदनले यस वर्षको मध्यवर्ती नवीकरणमा थप अनुकूलित तथा नवीन पुनर्बीमा समाधानहरूको प्रयोग बढेको पनि उल्लेख गरेको छ। डेटा गुणस्तर, विश्लेषणात्मक क्षमता र एआईमा भएको लगानीले पुनर्बीमकहरूको विश्वास बढाउनुका साथै बजारमा थप क्षमता विस्तार गर्न सहयोग पुर्याएको छ। साथै, पुनर्बीमकहरू समग्र सुरक्षा र आम्दानी संरक्षण जस्ता लचिलो संरचनाहरूमा पनि सकारात्मक देखिएका छन्।
एओनका अनुसार पुनर्बीमकहरूको वित्तीय अवस्था पनि बलियो रहेको छ। सन् २०२६ को पहिलो त्रैमासमा उनीहरूको औसत प्रतिफल १४.१ प्रतिशत रहेको छ, जुन औसत पूँजी लागतभन्दा उल्लेखनीय रूपमा उच्च हो। साथै, बलियो एल निनो प्रभावका कारण अटलान्टिक क्षेत्रमा आँधीबेहरीको गतिविधि कम रहने अपेक्षाले यस वर्ष पुनर्बीमकहरूको नाफा थप सुदृढ रहने अनुमान गरिएको छ।
एओनका अन्तर्राष्ट्रिय पुनर्बीमा प्रमुख कार्यकारी अधिकृत अल्फोन्सो भालेराले भू–राजनीतिक अनिश्चितता, बदलिँदो जोखिम र बजार चक्रबीच बीमा कम्पनीहरूले लचिलो रणनीति अपनाउनुपर्ने आवश्यकता औँल्याएका छन्। उनका अनुसार आगामी वर्षहरूमा बदलिँदो बजार परिस्थितिसँग अनुकूलन गर्दै दीर्घकालीन रणनीतिक लक्ष्यमा केन्द्रित रहनु उद्योगका लागि महत्वपूर्ण हुनेछ।
प्रतिवेदनले मध्यपूर्वको जारी द्वन्द्वले यसपटकको मध्यवर्ती पुनर्बीमा नवीकरणमा प्रत्यक्ष प्रभाव नपारे पनि समुद्री, युद्ध, आतंकवाद तथा राजनीतिक हिंसासम्बन्धी विशेष बीमा क्षेत्रमा भने यसको प्रभाव भविष्यमा देखिन सक्ने जनाएको छ। विशेषगरी आगामी जनवरी २०२७ को नवीकरणमा यी क्षेत्रका सर्त तथा मूल्य निर्धारणमा परिवर्तन आउन सक्ने सम्भावना रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ।
एओनका अनुसार यदि वर्षको बाँकी अवधिमा प्राकृतिक विपत्तिबाट हुने क्षति अनुमानित सीमाभित्र रहेमा सन् २०२७ को नवीकरणमा पुनर्बीमकहरूले थप लचिलो संरचना, व्यापक कभरेज तथा अनुकूल रिटेन्सन व्यवस्था उपलब्ध गराउने सम्भावना छ।
साथै, उन्नत डेटा, विश्लेषण र एआईमा आधारित निर्णय प्रणालीले बीमा कम्पनीहरूलाई अझ प्रभावकारी तथा आवश्यकताअनुसारका पुनर्बीमा समाधान छनोट गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ।

