काठमाण्डौ । एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डाको नेपाल भ्रमणकै अवसर पारेर सरकारले एडीबीसँग करिब २५ अर्ब रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सम्झौता गरेको छ।
सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र एडीबी अध्यक्ष कान्डाको उपस्थितिमा दुईवटा आयोजनाका लागि १६ करोड ५० लाख अमेरिकी डलर बराबरको ऋण सम्झौता भएको हो। सम्झौतापत्रमा नेपाल सरकारका तर्फबाट अर्थसचिव डा. घनश्याम उपाध्याय र एडीबीका नेपालस्थित आवासीय नियोगका देशीय निर्देशक आर्नो कुश्वाले हस्ताक्षर गरे।
सम्झौताअनुसार ऋण रकम एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजना र दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग तथा आपूर्ति व्यवस्थापन सुधार कार्यक्रमअन्तर्गत परिचालन गरिनेछ।
अर्थ मन्त्रालयका सहसचिव तथा प्रवक्ता अमृत लम्सालका अनुसार खानेपानी तथा ढल व्यवस्थापनसम्बन्धी आयोजनाका लागि ११ करोड ५० लाख अमेरिकी डलर र आपूर्ति व्यवस्थापन तथा भन्सार आधुनिकीकरणसम्बन्धी आयोजनाका लागि ५ करोड अमेरिकी डलर ऋण लिइएको हो।
खानेपानी तथा ढल व्यवस्थापन आयोजनामार्फत स्थानीय तहमा खानेपानी र ढल व्यवस्थापनका एकीकृत पूर्वाधार निर्माण गर्ने सरकारको लक्ष्य छ। यो आयोजना विशेषगरी साना तथा मध्यम सहरको खानेपानी पूर्वाधार सुधारमा केन्द्रित हुनेछ। एडीबीका अनुसार यसबाट १३ जिल्लाका करिब ८ लाख ५० हजार जनसंख्या लाभान्वित हुने अनुमान गरिएको छ।
त्यस्तै, आपूर्ति व्यवस्थापन सुधार कार्यक्रमअन्तर्गत भन्सार कार्यप्रक्रिया र लजिस्टिक सेवालाई आधुनिक बनाइनेछ। जोखिममा आधारित जाँचपास, प्रविधिमा आधारित भन्सार प्रणाली, सरल प्रक्रिया र गुणस्तरीय पूर्वाधारमार्फत व्यापार लागत घटाउने, सीमा पार व्यापारलाई सहज र अनुमानयोग्य बनाउने तथा आपूर्ति शृंखलाको क्षमता बढाउने लक्ष्य राखिएको छ।
सरकारले यस आयोजनामार्फत भन्सार प्रशासनको आधुनिकीकरण, व्यापार प्रवद्र्धन र रोजगारी सिर्जनामा योगदान पुग्ने विश्वास लिएको छ। क्षेत्रीय मूल्य शृंखलामा नेपालको सहभागिता बढाउने र वस्तु ओसारपसारलाई थप प्रभावकारी बनाउने उद्देश्यसमेत यसमा जोडिएको छ।
कार्यक्रममा अर्थमन्त्री डा. वाग्लेले नेपालको विकास यात्रामा एडीबीले पुर्याउँदै आएको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा साझेदारी अझ सुदृढ हुने विश्वास व्यक्त गरे।
एडीबी अध्यक्ष कान्डाले पनि नेपालसँगको करिब ६ दशक लामो सहकार्यलाई निरन्तरता दिँदै अझ प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता जनाए। उनले नेपालको विद्यमान बाह्य तथा आन्तरिक चुनौती सामना गर्न एडीबी सधैं सहयोगी रहने उल्लेख गर्दै नेपालका विकास प्राथमिकतासँग बैंकका प्राथमिकता मेल खाने बताए।
कार्यक्रममा नेपाल सरकार र एसियाली विकास बैंकका वरिष्ठ अधिकारीहरूको उपस्थिति थियो।

