काठमाण्डौ । सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष तारा फुल्लेलले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिले सेयर धितो कर्जामा सबै सूचीकृत कम्पनीलाई एउटै मापदण्डमा राख्ने पुरानो अभ्यासबाट अघि बढ्दै जोखिम–आधारित मूल्याङ्कनलाई प्राथमिकता दिने स्पष्ट संकेत गरेको बताएका छन् ।
मौद्रिक नीतिमार्फत आएको यस व्यवस्थाले कम्पनीको वित्तीय अवस्था, सुशासन, पारदर्शिता तथा समग्र जोखिमको आधारमा कर्जा प्रवाह हुने वातावरण सिर्जना हुने उनले बताए ।
नीतिअनुसार बलियो वित्तीय आधार, राम्रो सुशासन र उच्च पारदर्शिता भएका कम्पनीका सेयर धितोमा कर्जा प्राप्त गर्न सहज हुने सम्भावना बढ्ने उनले आँकलन गरे ।
फुल्लेलका अनुसार कमजोर वित्तीय अवस्था वा उच्च जोखिम भएका कम्पनीमा अत्यधिक कर्जा प्रवाह स्वतः सीमित हुने भएकाले बजारमा देखिने अस्वाभाविक उतारचढाव नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।
उनका अनुसार यस्तो व्यवस्थाले लगानीकर्तालाई हल्ला, अफवाह वा छोटो अवधिको सट्टेबाजीभन्दा कम्पनीको वास्तविक वित्तीय अवस्था, नाफा, सुशासन र दीर्घकालीन सम्भावनाको आधारमा निर्णय लिन प्रेरित गर्नेछ । यो व्यवस्थाले गुणस्तरीय कम्पनीतर्फ लगानी आकर्षित गर्दै पुँजीबजारको समग्र गुणस्तर सुधार गर्न योगदान पुर्याउन सक्ने उनले बताए ।
‘दीर्घकालीन रूपमा जोखिम–आधारित कर्जा प्रणालीले बजारको विश्वसनीयता अभिवृद्धि गर्नुका साथै संस्थागत लगानीकर्ताको सहभागिता बढाउन र वित्तीय प्रणालीको स्थायित्वलाई मजबुत बनाउन सहयोग पुग्नेछ’ उनले भने, ‘साथै स्वस्थ प्रतिस्पर्धा, विवेकपूर्ण कर्जा प्रवाह र गुणस्तरीय लगानी संस्कृतिको विकासमार्फत नेपालको पुँजीबजारलाई अझ परिपक्व, पारदर्शी र दिगो बनाउने दिशामा यो नीति सकारात्मक छ ।’

