काठमाण्डौ । वर्तमान सरकार गठन भएको १०० कार्यदिन पूरा भएको अवसरमा कृषि, वन तथा वातावरण मन्त्रालयले आफ्नो कार्यकालमा हासिल गरेका प्रमुख उपलब्धि, नीतिगत सुधार तथा आगामी कार्ययोजना सार्वजनिक गरेको छ।
बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरी र मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले पछिल्लो १०० कार्यदिनमा मन्त्रालयले कृषि, वन, वातावरण तथा जलवायु परिवर्तनका क्षेत्रमा गरेका प्रमुख कार्य, प्राप्त उपलब्धि र आगामी प्राथमिकताबारे जानकारी दिए।
मन्त्री चौधरीका अनुसार किसानमैत्री सेवा प्रवाह, कृषि उत्पादन वृद्धि, रासायनिक मल व्यवस्थापन, कृषि बीमा, वन संरक्षण, जलवायु वित्त परिचालन, विकास आयोजनाको सहजीकरण तथा डिजिटल सेवा विस्तारमा मन्त्रालयले उल्लेखनीय प्रगति हासिल गरेको छ।
मन्त्रालयले कृषि नीति–२०८३ को मस्यौदा मन्त्रिपरिषद्मा प्रस्ताव गरेको तथा कृषि विधेयक–२०८३ कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सहमतिका लागि पठाएको जनाएको छ। साथै उखु किसानलाई उपलब्ध गराइने १ अर्ब ५१ करोड रुपैयाँ अनुदान भुक्तानी सम्पन्न भएको, कृषि बीमा प्रिमियम अनुदानअन्तर्गत वैशाखसम्मको सम्पूर्ण रकम भुक्तानी गरिएको तथा चिनी उद्योगहरूले किसानलाई तिर्नुपर्ने बक्यौता रकममध्ये ९२ प्रतिशत भुक्तानी भइसकेको जानकारी दिइयो। दुग्ध उत्पादक किसानको बक्यौता पनि दैनिक करिब १ करोड रुपैयाँका दरले भुक्तानी भइरहेको मन्त्रालयले जनाएको छ।
वन तथा वातावरणतर्फ पछिल्लो १०० दिनमा विकास आयोजनाका लागि २७५ हेक्टर वन क्षेत्र उपलब्ध गराइएको छ। वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईएर्) प्रक्रियालाई थप प्रभावकारी र छिटो बनाउन विशेष कार्यदल गठन गरिएको तथा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि राहत वितरण प्रणालीलाई थप प्रभावकारी बनाइएको मन्त्रालयले जनाएको छ।
जलवायु वित्त परिचालनतर्फ कार्बन व्यापारमार्फत १ अर्ब १० करोड रुपैयाँ बराबरको वैदेशिक मुद्रा प्राप्त गरी वितरण गरिएको जानकारी दिइयो। साथै कृषि, वन तथा जलवायु परिवर्तनसँग सम्बन्धित विभिन्न परियोजनामा अन्तर्राष्ट्रिय विकास साझेदार संस्थासँग सहकार्य विस्तार गरिएको पनि मन्त्रालयले जनाएको छ।
डिजिटल सेवा विस्तारअन्तर्गत किसानका लागि हेल्पडेस्क, ह्वाट्सएप, क्यूआर कोड, इमेल तथा अनलाइन प्रणालीमार्फत गुनासो व्यवस्थापन सेवा सञ्चालनमा ल्याइएको छ। कृषि उत्पादनको बजारीकरणलाई सहज बनाउन समर्पित बिक्री काउन्टर तथा अनलाइन सपिङ प्रणाली पनि सञ्चालनमा ल्याइएको मन्त्रालयले जानकारी दिएको छ।
कार्यक्रममा मन्त्री गीता चौधरीले कृषि क्षेत्रलाई मुलुकको आर्थिक विकासको प्रमुख आधारका रूपमा स्थापित गर्न सरकार प्रतिबद्ध रहेको बताइन्। उनले किसानका समस्या समाधान, समयमै रासायनिक मलको उपलब्धता, कृषि आधुनिकीकरण, माटोको स्वास्थ्य सुधार तथा तीनै तहका सरकारबीच प्रभावकारी समन्वयमार्फत उत्पादन वृद्धि र किसानको आय अभिवृद्धिमा मन्त्रालय केन्द्रित रहेको उल्लेख गरिन् ।
त्यसैगरी सचिव डा. राजेन्द्रप्रसाद मिश्रले नीतिगत सुधारसँगै सेवा प्रवाहलाई प्रभावकारी बनाउने दिशामा मन्त्रालयले उल्लेखनीय प्रगति हासिल गरेको बताइन्।
उनले पछिल्लो १०० कार्यदिनमा नीतिगत सुधार, डिजिटल सेवा विस्तार, जलवायु वित्त परिचालन, वन व्यवस्थापन तथा किसानलक्षित कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन भएको उल्लेख गर्दै आगामी दिनमा पनि परिणाममुखी सेवा प्रवाहलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरिन्।

