काठमाण्डौ । स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालको २८ औँ वार्षिक साधारणसभाबाट शनिबार सम्पन्न भयो। सभाबाट एसोसिएसनको नयाँ अध्यक्षमा स्वर्णलक्ष्मी सेक्युरिटिज (स्टक ब्रोकर नं. ३७) का सञ्चालक धर्मराज सापकोटा निर्वाचित भएका छन्। दिनभरको रस्साकस्सीपछि चुनावी मतपरिणामबाट प्रतिद्वन्द्वी गुणनिधि भुसाललाई पराजित गर्दै सापकोटा एसोसिएसनको नयाँ अध्यक्षमा निर्वाचित भए।
प्रस्तुत छ, एसोसिएसनका नवनियुक्त अध्यक्ष धर्मराज सापकोटा र बिजशालाकर्मी अर्जुन तिमिल्सिनाबीच उनका भावी योजना र उद्देश्यका बारेमा गरिएको कुराकानीको सारसंक्षेप–
तपाइँ चार्टर्ड अकाउन्टेन्ट पनि भएकोले पुँजीबजारको विकास कसरी गर्नुहुन्छ ?
– हामी अहिले सेयर किन्ने र बेच्ने काममा मात्रै सीमित छौँ। अब म सेटलमेन्ट ग्यारेन्टी फन्डलगायत नयाँ प्रोडक्ट ल्याउने कोसिस गर्छु। खासगरी अहिले पुँजीबजारमा सेयरसम्बन्धी जनचेताको अभाव छ। म जनचेतनाको कामलाई अगाडि बढाउँछु।
पुँजीबजार विकास र विस्तारका लागि मुख्यगरी ३ वटा काम गर्नुपर्छ। पहिलो लगानीकर्ता सचेतना कार्यक्रम र दोस्रो पहँुच विस्तारको काम। यो भनेको कम लागतमा उत्तम विकल्प अगाडि बढाउने हो। जस्तो– आधिकारिक प्रतिनिधि तथा सबब्रोकरको काम पनि हुन सक्छ। तेस्रो भनेको कम लागतमा बजार विस्तार गर्ने र प्रडक्ट ल्याउने काममा मेरो ध्यान केन्द्रित रहनेछ।
मतदानबाट निर्वाचित भएर आउनुभएको छ। अब असन्तुष्ट र भोट नदिनेलाई कसरी समेट्नुहुन्छ ?
– प्रजातान्त्रिक पद्धतिमार्फत म आएँ। मलाई भोट दिने वा नदिने भन्ने विषय हिजै सकियो। अब हामी सबै एउटै परिवारका सदस्य हौँ। सबैलाई समेटेर हातेमालो गर्दै अघि बढ्छु।
अघिल्ला अध्यक्षले गर्दागर्दैका आफ्नै टीएमएस सञ्चालनमा ल्याउने र मार्जिन कारोबार सुरु गर्नेजस्ता बाँकी काम कसरी अगाडि बढाउनुहुन्छ ?
– अघिल्लो कार्यकालमा म उपाध्यक्ष थिएँ। त्यो हिसाबले मलाई पनि केही ज्ञान छ। त्यसैले अब म बाँकी काम अगाडि बढाउँछु। मार्जिन कारोबारको विषयमा हामी पनि नियममा बाँधिएका छौँ। म सदस्य साथी, पूर्वअध्यक्ष र सरोकारवालाहरु सबैसँग सल्लाह गरेर अघि बढ्नेछु। सबब्रोकर तथा शाखा विस्तारजस्ता कामलाई कम लागतमा अगाडि बढाउन पनि मेरो पहल हुन्छ।
नियामक निकाय नेप्से, सेबोन र अर्थ मन्त्रालयसँग कस्तो खालको समन्वयकारी भूमिका निर्वाह गर्नुहुनेछ?
– म ब्रोकर एसोसिएसनको अध्यक्ष भएको छु। मलाई साथीभाइले प्रतिनिधि पात्र बनाउनु भएको छ। म नियमहरुको दायरभित्र रहेर साथीभाइहरुसँग छलफल गरेर अगाडि बढ्छु।
अध्यक्षको मुख्य चुनौती भनेको समन्वय र मिडिया व्यवस्थापन पनि हो भन्छन् पूर्वअध्यक्षहरु। कसरी अगाडि बढ्नुहुन्छ ?
– मैले समन्वय गर्ने भनेको साथीभाइ र नियामक निकायसँग नै हो। त्यसमा म कमी–कमजोरी हुन दिन्नँ। जहाँसम्म मिडिया व्यवस्थापनको विषय छ, हामीलाई मिडियाले कमी–कमजोरी औँलाइदिनुपर्छ। कमी–कमजोरी सच्चाउन हामी तयार छौँ। म मिडियाका साथीहरुबाट रचनात्मक सहयोगको अपेक्षा गर्छु। मेरो अनुरोध के छ भने विश्लेषणामत्क तथा सकारात्मक सहयोग मिडियाका साथीहरुबाट होस्।
हाम्रोमा ब्रोकर पेसालाई अझै पनि राम्रोसँग हेरिन्न। यसलाई कसरी मर्यादित र व्यावसायिक बनाउनुहुन्छ ?
– हामी पनि नीति–नियममै चल्नुपर्छ। सबै नीति–नियममा चलेपछि जुनसुकै पेसा यसै राम्रो हुन्छ। हाम्रा कमी–कमजोरीलाई सुधार गरेर गहिरो रुपमा अध्ययन र छलफल गरेर अगाडि बढ्छौँ। मेरो विचारमा अहिले पनि हामी मर्यादित नै छौँ र हुन चाहन्छौँ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                