काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक ०.७३ प्रतिशत अर्थात १९.८५ अंकले घटेर २ हजार ६९४.२० विन्दुमा सीमित बनेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५९ प्रतिशतले घटेर ४५९.२१ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२९ वटा स्क्रिप्टको २ करोड २० लाख ६० हजार ४५४ कित्ता सेयर ९ अर्ब १० करोड ९४ लाख बढीको सेयर कारोबार भयो । गत बिहिबार भने १४ अर्ब ५६ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको थियो ।
आजको बजारबारे बजार जानकार विरेन्द्र विष्ट भन्छन्,‘अहिलेको बजारमो अवस्था हेर्दा बजारमा हाल करेक्सन फेजमै चलिरहेको छ । अझै एक दुईदिन सानो–सानो करेक्सन देखिन सक्छ । यद्यपी लगानीकर्ता आत्तिनु पर्ने कुनैपनि कारण छैन ।’
उनले चुनावी माहौलले गर्दा बजारमा दबाब परेको बताए । करेक्सन फेज सकिएसँगै एक दुई दिनमा बजार बढ्ने विश्वास समेत उनले व्यक्त गरे ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये एउटा बाहेक अन्य सबैमा रातो पोतियो । आज व्यापार समूह मात्रै बढ्यो । यो समूह आज ०.५५ प्रतिशतले बढ्यो ।
होटल समूह आज सर्वाधिक अर्थात १.७५ प्रतिशतले घट्यो । बैंकिङ समूह पनि आज ०.४२ प्रतिशत, विकास बैंक ०.७५, फाइनान्स ०.४४, हाईड्रो १.३६, लगानी ०.९६, जीवन बीमा ०.५२, उत्पादन तथा प्रशोधन ०.७६, लघुवित्त ०.५७, म्युचुअल फण्ड ०.५०, निर्जीवन बीमा ०.६३ र अन्य समूह ०.९२ प्रतिशतले घट्यो ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज आँखुखोला जलविद्युतको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ५५ करोड ५२ लाख बढीको सेयर कारोबार भयो ।
यस्तै, एसवाई प्यानलको ५३ करोड ६४ लाख, राधी विद्युतको ३८ करोड ९८ लाख, युनियन हाईड्रोपावरको ३७ करोड ११ लाख र शिवश्री हाईड्रोको ३१ करोड ३९ लाख बढीको सेयर कारोबार भयो ।
धरै कमाउने र गुमाउने कम्पनीहरु
आज नेप्सेमा कारोबार भएको एउटा मात्रै कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज मिथिला लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात ९.७० प्रतिशतले बढ्यो । क्रेष्ट माइक्रो लाइफको सेयरमूल्य पनि आज ८.१९ प्रतिशत, शिवश्री हाईड्रोको ६.०७ र आँखुखोला जलविद्युतको सेयरमूल्य ४.६२ प्रतिशतले बढ्यो ।
आज एउटा कम्पनीको सेयरमूल्यमा मात्रै लोवर सर्किट लाग्यो । आज कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्यमा लोवर सर्किट लाग्यो । यस्तै राँवा इनर्जीको सेयरमूल्य पनि ९.३४ प्रतिशत, कालिका पावर कम्पनीको ७.३५, हिमस्टार उर्जाको ६.६५ र ट्रेड टावरको सेयरमूल्य ६.३७ प्रतिशतले घट्यो ।

