काठमाण्डौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) र नेपाल वायुसेवा निगम दुवैको नेतृत्व तहमा नयाँ नियुक्ति प्रक्रिया शुरु भएसँगै उड्डयन क्षेत्रमा प्रतिस्पर्धा र चासो बढेको छ।
क्यानको महानिर्देशक पदका लागि २१ जनाले आवेदन दिएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सात दिनको समय दिएर गत शनिबार आवेदन आह्वान गरेको थियो।
कानूनी प्रावधानअनुसार प्राधिकरण वा सरकारी सेवामा रहेका कर्मचारी मात्रै यस पदका लागि योग्य मानिन्छन्।
यसअघि भ्रष्टाचार अभियोगमा तात्कालीन महानिर्देशक प्रदीप अधिकारी पक्राउ परेपछि क्यान नेतृत्व रिक्त भएको थियो।
त्यसपछि संस्थाको प्रशासनिक स्थायित्व र सुधार कसरी अघि बढ्छ भन्ने विषयमा पनि निगरानी बढेको छ।
मन्त्रालय स्रोतका अनुसार प्राप्त आवेदनहरूको प्रारम्भिक छानबिनपछि अन्तिम सूची तयार गरी छनोट प्रक्रिया अघि बढाइनेछ।
यता, नेपाल वायुसेवा निगमको सञ्चालक समिति सदस्य पदका लागि पनि प्रतिस्पर्धा बढेको छ।
पाँच सदस्यीय पदका लागि २७ जनाले आवेदन दिएका छन्।
पहिले चार सदस्यका लागि मात्रै प्रक्रिया अघि बढाइएको भएपनि संरचनात्मक परिवर्तनपछि थप एक पद समेटेर पाँच सदस्य नियुक्त गर्ने व्यवस्था गरिएको छ।
यी दुवै नियुक्ति प्रक्रियालाई उड्डयन क्षेत्र सुधार र संस्थागत सुदृढीकरणको अवसरका रूपमा हेरिएको छ।
यद्यपि योग्य, अनुभवी र राजनीतिक प्रभावभन्दा बाहिरका व्यक्तिलाई छनोट गर्नुपर्ने माग पनि सरोकारवालाहरूबाट उठिरहेको छ।

