काठमाण्डौ । भूकम्प र आणविक परीक्षणबीचको सम्बन्धबारे एउटा नयाँ अनुसन्धान बाहिर आएको छ । लस अलामोस राष्ट्रिय प्रयोगशालाका भूकम्पविद्हरूले यो अनुसन्धान गरेका हुन् । अनुसन्धानपश्चात वैज्ञानिकहरूले केही भूकम्पहरू वास्तवमै गोप्य परमाणु परीक्षणबाट उत्पन्न हुन सक्ने बताएका छन् ।
जोसुवा कार्माइकलको नेतृत्वमा गरिएको अध्ययनमा यो कुरा बाहिर आएको हो । यो अनुसन्धान अमेरिकाको ‘सिस्मोलॉजिकल सोसाइटीको बुलेटिन’मा प्रकाशित भएको छ । अनुसन्धानमा भूकम्प र गुपचुप गरिएका आणविक विस्फोटहरूबाट हुने हलचलबीचको भिन्नता छुट्याउन धेरै गाह्रो छ।
नयाँ प्रविधिबाट पनि गोप्य आणविक विस्फोटको पहिचान गर्न गाह्रो हुने अनुसन्धानले जनाएको छ । जोसुवा र उनका सहकर्मीहरूले आफ्नो अनुसन्धानमा उत्तर कोरियामा विगत २० वर्षमा ६ वटा आणविक परीक्षण भएको पत्ता लगाएका छन् ।
त्यहाँ भूकम्प मापन यन्त्रको संख्यामा भएको वृद्धिले परीक्षण स्थल वरिपरि साना भूकम्प ठूलो संख्यामा आउने गरेको देखाएको छ । यसले भूकम्पको बीचमा विस्फोटका संकेतहरू पहिचान गर्न धेरै गाह्रो बनाउने अनुसन्धानकर्ताहरुको ठहर छ ।
अहिलेसम्म भूकम्पको संकेतले विष्फोट लुकाउन सकिँदैन भन्ने मान्यता थियो । तर नयाँ अध्ययनले यसलाई गलत साबित गरेको छ । जोसुवा भूकम्प र आणविक परीक्षण झटकाको मिश्रणले यसलाई अलग गर्न गाह्रो हुने बताउछन्। दुवै झटका समान हुने भएकाले आधुनिक प्रविधि पनि यसलाई छुट्याउन असफल छ। वैज्ञानिकहरूले पी–वेभ र एस–वेभको अनुपातमा यो समस्या समाधान गर्ने प्रयास गरेका छन्।
अनुसन्धान टोलीले विशेष प्रविधिले १.७ टनको दबिएको विस्फोट ९७ प्रतिशत सटीकतामा पहिचान गर्न सक्ने तथ्य पत्ता लगाएको छ। तर, यदि विष्फोटको झट्का १०० सेकेन्डभित्र र २५० किलोमिटरको दायराभित्र आउने भूकम्पको धक्कासँग मिल्छ भने यो प्रविधिले ३७ प्रतिशत मात्र सही नतिजा दिन्छ। अर्थात् यस्तो अवस्थामा यो प्रविधि केही हदसम्म असफल हुन्छ ।
जोसुवाका अनुसार अहिलेृका उत्कृष्ट डिजिटल सिग्नल डिटेक्टरहरू पनि विष्फोट र भूकम्पको झट्काको मिश्रणले विष्फोट पहिचान गर्नमा असफल देखिन्छन् । यसको स्पष्ट अर्थ भूकम्पको झट्काले विष्फोटको संकेत लुकाउन सक्छ भन्ने हो। भूकम्प जाने ठाउँमा विष्फोट पत्ता लगाउन निकै गाह्रो हुने वैज्ञानिकहरुको ठहर छ ।