काठमाण्डौ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल(इप्पान) फूट्ने अवस्था देखिएको छ ।
यो संस्थाको ब्यानर प्रयोग गरेर केही सीमित पदाधिकारीहरुले मनपरी गरेको भन्दै उर्जा उत्पादक कम्पनीहरुले सार्वजनिक रुपमा विज्ञप्तिमार्फत आपत्ति जनाएका छन् ।
प्रकरण धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठमाथि केही उर्जा उत्पादकहरुले आईपीओ निश्कासनका लागि स्वीकृति नदिएको झोंकमा लगाएको गम्भीर आरोपका हो ।
केही उर्जा उत्पादकहरुले आईपीओ स्वीकृतिको पर्खाईमा रहेका कम्पनीहरुसँग धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले बिचौलिया परिचालन गरी कमिसन मागेको आरोप लगाइरहेका छन् । आरोप पुष्टि गर्न अध्यक्ष श्रेष्ठले चुनौति दिए पनि त्यसलाई स्वीकार गरेर कुनै पनि उर्जा उत्पादक प्रमाणसहित बाहिर आउन सकेको छैन ।
यही प्रकरणपछि उर्जा उत्पादक कम्पनीहरु आफ्नै नेतृत्व र पदाधिकारीविरुद्ध प्रतिवादमा उत्रिएका छन् । इप्पानभित्र यही प्रकरणले फूटको बिजारोपण गरेको देखिएको छ ।
यो क्रममा उर्जा उत्पादकहरुले आईपीओ निश्कासनको स्वीकृति दिएका कम्पनीहरुबाट समेत कमिसन लिइएको गम्भीर आरोप लगाएका थिए । तर आईपीओ स्वीकृति पाएका ती कम्पनीहरुले आरोपको खण्डन गर्दै कानूनी उपचारमा गइसकिएको चेतावनी दिएपछि आरोपको बिस्कुन लगाएर कमजोर कम्पनीलाई आईपीओ जारी गर्नका लागि सेबोन नेतृत्वलाई बाध्य पार्ने खेल केही कमजोर बनेको छ ।

धितोपत्र बोर्डले केही समयअघि आईपीओ निश्कासनको स्वीकृति दिएका तीनवटा कम्पनीले अलग अलग विज्ञप्ति जारी गरी इप्पानका पदाधिकारीहरुको सार्वजनिक आरोपको प्रतिवाद गरेका छन् । धितोपत्र बोर्डले कानूनी प्रक्रियाअनुसार नै आफूहरुलाई आईपीओ ल्याउन दिएको उल्लेख गर्दै उनीहरुले आफ्नो कम्पनीहरुको विषयमा बद्नाम गराउने लगायतलाई नछाड्नेसम्मको चेतावनी दिएका छन् ।

विकास हाइडोपावर, पियोर इनर्जी र सान्भी इनर्जीले छुट्टा छुट्टै विज्ञप्ति जारी गरी उर्जा उत्पादकहरुले लगाएको आरोपको खण्डन गरेका हुन् ।
