काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुको खुद नाफा ५४.४५ प्रतिशतले घट्न पुगेको छ । कम्पनीहरुले प्रकाशित गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार १४ जीवन बीमकको समग्र नाफा ५४ प्रतिशलते घटेको हो ।
चालु आवको तेस्रो त्रैमाससम्म निर्जीवन बीमा कम्पनीहरुले २ अर्ब ४१ करोड ३ लाख रुपैयाँ नाफा कमाएका छन् । गत आवको सोही अवधिसम्म भने निर्जीवन बीमकहरुले ५ अर्ब २९ करोड २० लाख रुपैयाँ नाफा कमाएका थिए ।
सो अवधिसम्म आइपुग्दा सानिमा जिआइसी इन्स्योरेन्स र शिखर इन्स्योरेन्सको नाफा गत आवको तुलनामा बढेको छ भने अन्य कम्पनीको घटेको छ । साथै सो अवधिसम्म विदेशी कम्पनीहरु ओरियन्टल इन्स्योरेन्स र नेशनल इन्स्योरेन्स भने घाटामा देखिएका छन् ।
गत असोज १० गतदेखि १२ गतेसम्म आएको भीषण बाढीपहिरोका कारण र गत चैत १५ गते राजावादीहरुको तीनकुनेमा भएको आन्दोलनका कारण निर्जीवन बीमा कम्पनीहरुको मुनाफा प्रभावित बन्न पुगेको छ । विशेषगरी बाढीपहिरोले निर्माणका कार्यहरु, हाइड्रो प्रोजेक्ट, घर तथा सवारी साधन जस्ता क्षेत्रमा उच्च क्षति पुगेको थियो ।
त्यस्तै, तीनकुनेमा भएको आन्दोलनबाट पनि ठूलो धनसम्पत्तिमा क्षति पुर्याएको थियो । जसकारण निर्जीवन बीमा कम्पनीहरुमा करोडौं रकम दाबी परेको छ । बीमा कम्पनीहरुले दाबी परेको बीमाको क्षति मूल्यांकन गरेर दाबी भुक्तानी दिइरहेका छन् । यसकारण पनि अधिकांश बीमा कम्पनीको नाफा प्रभावित बन्न पुगेको हो ।
तेस्रो त्रैमाससम्म सबैभन्दा बढी नाफा कमाउनेमा सिद्धार्थ प्रिमियर रहेको छ । कम्पनीले ४५ करोड ३६ लाख रुपैयाँ नाफा कमाएको छ । तर यो नाफा गत आवको तुलनाम २४।०३ प्रतिशत कम हो ।
त्यस्तै, राष्ट्रिय बीमा कम्पनीले ३९ करोड ५६ लाख, नेकोले ३६ करोड ९३ लाख, शिखरले ३५ करोड ७० लाख, हिमालयन एभरेष्टले ३३ करोड २३ लाख, आइजीआई प्रुडेन्सियलले २६ करोड ५१ लाख, सलिकोले २५ करोड १९ लाख, सानिमा जिआइसीले २३ करोड ३५ लाख, प्रभुले २० करोड २ लाख, नेपाल इन्स्योरेन्सले १७ करोड ८४ लाख, एनएलजीले १२ करोड २२ लाख र युनाइटेड अजोडले ११ करोड ६१ लाख रुपैयाँ नाफा कमाएका छन् ।
यता ओरियन्टल इन्स्योरेन्स र नेशनल इन्स्योरेन्स भने घाटामा देखिएका छन् । ओरियन्टलले १३ करोड ८३ लाख रुपैयाँ र नेशनल इन्स्योरेन्सले ७२ करोड ८१ लाख रुपैयाँ घाटा ब्यहोरेको छ ।
सो अवधिसम्म दुई बीमकको मात्रै नाफा बढेको छ । सानिमा जिआइसीको नाफा १६.२१ प्रतिशत बढेको छ भने शिखरको नाफा १.७९ प्रतिशतले बढेको छ । सबैभन्दा बढी नाफा घट्नेमा युनाइटेड अजोडको ५७.६५ प्रतिशतले घटेको छ ।
इपीएस कुनको कति ?
सो अवधिसम्म आइपुग्दा निर्जीवन बीमा कम्पनीहरुको प्रतिसेयर आम्दानी (इपीएस) घटेको छ । सानिमा जिआइसी इन्स्योरेन्स बाहेक सबैको इपीएस गत आवको तुलनामा घटेको छ ।
सो अवधिसम्म सबैभन्दा बढी इपीएस राष्ट्रिय बीमा कम्पनीको १४८.३९ रुपैयाँ रहेको छ। त्यस्तै, नेको इन्स्योरेन्सको २४.४७ रुपैयाँ रहेको छ । कम्पनीको इपीएस गत आवको तुलनामा ०.५४ रुपैयाँले घटेको छ ।
यसका साथै सिद्धार्थ प्रिमियरको २१.५५ रुपैयाँ, प्रभुको १८.५३ रुपैयाँ, शिखरको १६.२९ रुपैयाँ, सानिमा जिआइसीको १५.५७ रुपैयाँ, हिमालयन एभरेष्टको १३.२९ रुपैयाँ, सलिकोको १२.८१ रुपैयाा, नेपाल इन्स्योरेन्सको १२.५८ रुपैयाँ, आइजीआई प्रुडेन्सियलको ११.६७ रुपैयाँ, युनाइटेड अजोडको ७.३७ रुपैयाँ र एनएलजी इन्स्योरेन्सको ६.५७ रुपैयाँ रहेको छ ।

