काठमाण्डौ । लामो समयपछि आज धितोपत्र बोर्डमा सञ्चालक समितिको बैठक बस्दै छ । धितोपत्र बोर्डस्थित उच्च स्रोतले दिएका जानकारी अनुसार आज बस्ने बैठकमा विभिन्न अजेण्डासहित नयाँ स्टक एक्सचेञ्जको बिषयमा समेत छलफल हुने भएको छ । यसअघि सरकारले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया अघि बढाउने निर्णयसहित अध्ययन कार्यदलको प्रतिवेदन अर्थ मन्त्रालयमा पठाउने निर्णय गरेको थियो ।
तत्पश्चात् नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि सिवाकोटीको अध्ययन समितिले नयाँ स्टक एक्सचेञ्ज अघि बढाउने सरकारलाई प्रतिवेदन बुझाएको थियो । नयाँ स्टक एक्सचेन्जको लाइसेन्स रोक्न अधिवक्ता कृष्णबहादुर थापा लगायतले रिट दायर गरेका थिए । उक्त रिट खारेज भएसँगै निजी क्षेत्रलाई लाइसेन्स दिने बाटो सहज भएको छ । नयाँ स्टक एक्सचेञ्जको लाइसेन्सको दौडमा ३ वटा समूह रहेका छन् । जसमा हिमालयन स्टक एक्सचेञ्ज , अन्नपूर्ण स्टक एक्सचेञ्ज र नेशनल स्टक एक्सचेञ्ज रहेका छन् ।
नयाँ स्टक एक्सचेञ्जको आवश्यकता कति ?
हाल नयाँ स्टक एक्सचेञ्जको विषयमा बिभिन्न बिचारहरु सुनिन्छन् । केहीले भएकै स्टक एक्सचेञ्जलाई पुनर्संरचना गरेर विदेशि साझेदार भित्राउनुपर्ने तर्क गर्दै आएका छन् । अर्काथरीले भने हालको स्टक एक्सचेञ्जले पूर्णरुपमा सरकारी स्वामित्वमा रहँदा कुनै पनि काम हुन नसकेको र पुनर्संरचना पनि समयमा हुन नसक्ने भन्दै नयाँ स्टक एक्सचेञ्जको विकल्प नरहेको तर्क गर्ने गरेका छन् ।
बजारमा लगानीकर्ताहरुले इन्ट्रा डे ट्रेडिङ , अप्सन मार्केट् , फ्यूचर मार्केट , अक्सन मार्केट् , डेरिभेटिभ तथा कमोडिटिज बजार जस्ता विषयवस्तु नयाँ स्टक एक्सचेञ्ज आएपछि मात्रै सम्भव रहेको पनि तर्क गर्छन । छिमेकी मुलुक भारतमा टी प्लस जीरो सेटलमेन्ट पुगेको अबस्थामा नेपालको सेयरबजार भने बल्ल बल्ल अनलाइन कारोबारमा पुगेको छ । लगानीकर्ता टेकेन्द्र थपलियाले सम्भव भएसम्म पुरानै स्टक एक्सचेञ्लाई सुधार गर्नु पर्नेमा जोड दिए । उनले थप्दै भने, यदि पुरानो स्टक एक्सचेञ्जले काम नै गर्न नसकेको अवस्थामा नयाँ स्टक एक्सचेञ्जको बिकल्प रहदैन ।’