काठमाण्डौ । म्युचुअल फण्डहरुको पोर्टफोलियोमा बीमा कम्पनीहरुको एक करोड कित्ता सेयर होल्डमा रहेको छ । वैशाख महिनासम्मको तथ्याङ्कअनुसार म्युचुअल फण्डहरुको पोर्टफोलियोमा बीमा कम्पनीहरुको कुल एक करोड ७ लाख ३०७ कित्ता सेयर होल्डमा रहेको देखिएको हो ।
जसमा जीवन बीमा कम्पनीहरुको मात्रै ५७ लाख ५३ हजार ७५५ कित्ता र निर्जीवन बीमा कम्पनीहरको ४९ लाख ४६ हजार ५५२ कित्ता सेयर रहेको छ ।
गत आवको वैशाख मसान्तसम्म भने म्युचुअल फण्डहरुको फोर्टफोलियोमा बीमा कम्पनीहरुको कुल १ करोड ३६ लाख ९१ हजार ६२० कित्ता सेयर होल्डमा रहेको थियो । गत आवको तुलनामा यस वर्ष बीमा कम्पनीको सेयर म्युचुअल फण्डहरुले २१.८५ प्रतिशतले घटाएका छन् ।
फण्डहरुले जीवन बीमा कम्पनीको सेयर १७.३५ प्रतिशतले र निर्जीवन बीमा कम्पनीको सेयर २६.५० प्रतिशतले फोर्टफोलियोबाट घटाएका छन् । गत आवको वैशाख मसान्तसम्म जीवन बीमा कम्पनीको कुल ६९ लाख ६१ हजार २२९ कित्ता सेयर होल्डमा थियो भने निर्जीवन बीमा कम्पनीको कुल ६७ लाख ३० हजार ३९१ कित्ता सेयर होल्डमा थियो ।
नेप्सेमा जीवन र निर्जीवन गरी कुल २७ वटा बीमा कम्पनी सूचीकृत छन् । तथ्याङ्कअनुसार वैशाख मसान्तसम्म म्युचुअल फण्डहरुको जीवन बीमा कम्पनीतर्फको १४.४५ प्रतिशत सेयर होल्डिङमा देखिएको छ, भने निर्जीवन बीमा कम्पनीको १४।३३ सेयर प्रतिशत होल्डिङ देखिएको छ ।
गत आवको सोही अवधिसम्म भने जीवन बीमा कम्पनीको १२.५१ प्रतिशत सेयर होल्डिङमा रहेको थियो भने निर्जीवन बीमा कम्पनीको १५.१० प्रतिशत सेयर होल्डिङमा रहेको थियो ।
गत आवको तुलनामा बीमा कम्पनीहरको सूचीकृत कम्पनीको संख्या थपिएपनि म्युचुअल फण्डहरुले भने बीमा कम्पनीको सेयर कित्ता संख्या नै घटाएका छन् ।
फण्डहरुको सूचीकृत कम्पनीको सेयरमा अर्बौ रकम लगानी रहेको हुन्छ । उच्च रिटर्न दिने र जोखिम कम हुने खालका कम्पनीमा फण्डहरुको बढी लगानी देखिन्छ । सूचीकृत कम्पनीहरुमा बैंक वित्तीय संस्थापछि फण्डहरुले बढी इन्स्योरेन्स कम्पनीको सेयरमा लगानी गरेको देखिन्छ । जोखिम कम र प्रतिफल प्राप्त गर्ने हिसाबले बीमा कम्पनीको सेयरमा लगानी उत्कृष्ट मानिएपनि पछिल्लो समय म्युचुअल फण्डहरुले इन्स्योरेन्समा गरेको लगानी घटाउँदै गएको देखिएको छ ।
पछिल्लो समय चुक्तापूँजी पुगिसकेका बीमा कम्पनीहरुले बोनस सेयर भन्दा नगद लाभांशमा बढी जोड दिइरहेका छन् । साथै पूँजी पुगिसकेका केही बीमकहरुले लाभांश नै नबाँड्ने जस्ता निर्णय गर्दा म्युचुअल फण्डहरुले यस्ता कम्पनीमा गरेको लगानीको कित्ता संख्या घटाएको देखिन्छ ।
तुलनात्मक हेर्दा फण्डहरुले जीवन भन्दा बढी निर्जीवन बीमा कम्पनीको सेयरमा गरेको लगानी अझै बढी घटाएका छन् । पछिल्लो त्रैमासको रिर्पोट हेर्दा निर्जीवन बीमा कम्पनीहरुको नाफा प्रभावित देखिएका छन् ।
गत वर्षको असोज महिनामा आएको अबिरल वर्षाका कारण बाढीपहिरोको क्षति र गत चैत १५ मा भएको राजावादीहरुको आन्दोलनले पुर्याएको धनजनको क्षतिले निर्जीवन बीमा कम्पनीहरुमा ठूलो रकम बीमा दाबी परेको छ । निर्जीवन बीमा कम्पनीहरुको क्षतिको मूल्यांकन गरी दाबी भुक्तानी समेत दिइरहेका कारण दोस्रो र तेस्रो त्रैमाससम्म आइपुग्दा निर्जीवन बीमकको नाफा प्रभावित देखिएको छ ।
चौथो त्रैमाससम्म पुग्दा अझैपनि निर्जीवन बीमा कम्पनीको नाफा प्रभावित बन्न सक्ने देखिन्छ । यस हिसाबले बीमा कम्पनीबाट भनेजस्तो रिटर्न नपाउने देखिएपछि म्युचुअल फण्डहरुले लगानीको आकार घटाएको बुझ्न सकिन्छ ।