काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इरानको शासन परिवर्तनबारे टिप्पणी गरेका छन् । ट्रम्पले आफ्नो ट्रुथ सोशलमा लेखेका छन्, ‘शासन परिवर्तन भन्नु राजनीतिक रूपमा सही मानिँदैन, तर यदि वर्तमान इरानी सरकारले इरानलाई फेरि महान बनाउन सक्षम छैन भने, त्यहाँ शासन परिवर्तन किन हुँदैन ? मेक इरान ग्रेट अगेन।’
तर, आइतबार आयोजित पत्रकार सम्मेलनमा अमेरिकी रक्षामन्त्री पिट हेगसेथले इरानको आणविक केन्द्रमा भएको आक्रमण शासन परिवर्तनका लागि नभएको बताएका थिए ।
उनले भनेका थिए, ‘यो मिशन सत्ता परिवर्तन गर्ने होइन, अहिले त्यस्तो कुनै उद्देश्य छैन । यसबाहेक अमेरिकी उपराष्ट्रपति जेडी भान्सले आइतबार एबीसी न्यूजसँग भने, ‘सबैभन्दा पहिले हामी शासन परिवर्तन चाहँदैनौं। हामी इरानको आणविक कार्यक्रम अन्त्य गर्न चाहन्छौं।’
आइतबार अमेरिकाले इरानका तीन आणविक अखडा फोर्ड, नातान्ज र इस्फाहानमा आक्रमण गरेको थियो । यसपछि इरानी अधिकारीहरूले यी आणविक साइटहरूलाई निशाना बनाएको पुष्टि गरेका छन्। तर, यसले ठूलो क्षति पुर्याएको दाबीलाई उनले अस्वीकार गरे ।