काठमाण्डौ । बीमा कम्पनीहरुले ३५ अर्ब रुपैयाँ भन्दा बढी बीमा दाबी भुक्तानी दिन बाँकी रहेको देखिएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको ११ महिनासम्ममा जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले ३५ अर्ब ४ करोड ४ लाख रुपैयाँबराबरको बीमा दाबी भुक्तानी दिन बाँकी रहेको हो ।
जसमा जीवन बीमा कम्पनीहरुले ४ अर्ब ५७ करोड ९७ लाख रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरुले ३० अर्ब ४६ करोड १७ लाख रुपैयाँ दाबी भुक्तानी दिन बाँकी रहेको हो ।
बीमकहरुले १ लाख ६१ हजार १७९ वटा बीमालेखको भुक्तानी दिन बाँकी रहेको देखिएको छ । जसमा जीवन बीमकहरुले मात्रै ५४ हजार ४२२ वटा बीमालेख र निर्जीवन बीमा कम्पनीहरुले १ लाख ६ हजार ७५७ वटा बीमालेखको दाबी भुक्तानी दिन बाँकी रहेको छ ।
जीवन बीमाको तुलनामा निर्जीवन बीमा कम्पनीहरुमा बीमा दाबी भुक्तानी गर्नुपर्ने रकम धेरै देखिएको छ । गत वर्षको असोज महिनामा आएको अविरल वर्षाका कारण बाढीपहिरोले पुर्याएको क्षति र गत चैत महिनामा काठमाण्डौको तीनकुनेमा भएको हुलदंगाका कारण भएको क्षतिले विशेषगरी निर्जीवन बीमा कम्पनीहरुमा दाबीको ओइरो परेको छ ।
सो कारण निर्जीवन बीमा कम्पनीहरुको दाबी भुक्तानी गर्नुपर्ने रकम धेरै देखिएको हो । तर सो अवधिसम्म निर्जीवन बीमा कम्पनीहरुले कुल १ लाख २७ हजार २८२ वटा बीमालेखबराबरको २० अर्ब ३० करोड ३ लाख रुपैयाँको दाबी भुक्तानी दिइसकेका छन् ।
त्यस्तै, यता जीवन बीमा कम्पनीहरुले पनि सो अवधिसम्म २ लाख ३८ हजार ६०८ वटा बीमालेखबराबरको ५२ अर्ब ६४ करोड १८ लाख रुपैयाँ दाबी भुक्तानी दिएका छन् । सो अवधिसम्म जीवन र निर्जीवन बीमा कम्पनीहरुले कुल ३ लाख ६५ हजार ८९० वटा बीमालेखबराबरको ७२ अर्ब ९४ करोड २१ लाख रुपैयाँ दाबी भुक्तानी दिइसकेका छन् ।
बीमा कम्पनीहरुले कुल परेको दाबीमा ६७.५४ प्रतिशत दाबीको भुक्तानी दिएका छन् भने ३२.४५ प्रतिशत दाबीको भुक्तानी दिन बाँकी रहेको छ ।