काठमाण्डौ । नेप्सको दैनिक चार्टमा आज ड्रागन फ्लाई डोजी बनेको छ । (हेर्नुहोस् एरो) सेयर तथा सूचकको सुरु, अन्तिम र अधिकतम मूल्य एउटै भई न्यूनतम मूल्य कम भएर तल लामो धागो देखिएको मैनबत्तीलाई ड्रागन फ्लाई डोजी भनिन्छ । यो क्याण्डल अंग्रेजी अक्षरको ‘टी’आकारको हुन्छ ।
यसले दिनभरको कारोबार समय बिक्रेताले नियन्त्रण लिएको र कारोबारको अन्तिम समयमा क्रेताले बजारलाई माथि धकेली पुनःसुरुको मूल्य तथा सूचकमा पुर्याएको हुन्छ । यो मैनबत्तीले तलको लामो धागोले बजारमा क्रेताको चाप रहेको कुरालाई संकेत गर्छ । छोटो धागोले बिक्रेताको अझै कायम रहेको बुझिन्छ ।
लामो समयको घट्दो ट्रेन्डमा यस्तो आकृति देखा परेमा बजारले बुलिस ट्रेन्डमा जाने संकेत गर्छ । यसअघि यस्तै आकृति बन्दा बजार बुलिस बनेको थियो ।
यसविपरीत यदि लामो समयको बढ्दो ट्रेन्डमा ग्रेभ स्टोन डोजी देखा परेमा भने बजार बियरिसमा जाने संकेत गर्छ । हालको बजारमा ड्रागन फ्लाई डोजी आकार बनेको कारण सम्भावित रुपमा बजार घट्न रोकिएको मान्न सकिन्छ । यद्यपी यसको निश्चितताको लागी अझै एउटा क्याण्डल नियाल्नु पर्ने हुन्छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो प्राविधिक विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।