काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो ११ महिनामा नेपालले २१ खर्ब ७२ अर्ब रुपैयाँभन्दा बढीको वैदेशिक व्यापार गरेको छ। तर आयात र निर्यातबीचको ठूलो असन्तुलनका कारण देशको व्यापार घाटा १६ खर्ब १६ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ।
भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार सो अवधिमा नेपालले १८ खर्ब ९४ अर्ब ९ करोड रुपैयाँबराबरको वस्तु तथा सेवा आयात गरेको छ भने निर्यात २ खर्ब ७७ अर्ब ९६ करोड ७२ लाख रुपैयाँमा सीमित रहेको छ।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा निर्यात १२.२८ प्रतिशतले वृद्धि भए पनि आयात उच्च दरमा बढेकाले व्यापार घाटा अझै विस्तार भएको देखिएको छ। अघिल्लो वर्ष यस अवधिमा निर्यात २ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ रहेको थियो।
विभागका अनुसार कुल व्यापारमा आयातको हिस्सा ८७.२० प्रतिशत र निर्यातको हिस्सा १२.८० प्रतिशत रहेको छ। अर्थात् प्रत्येक १०० रुपैयाँको वैदेशिक व्यापारमा करिब ८७ रुपैयाँ आयातमा खर्च हुँदा निर्यात केवल १३ रुपैयाँबराबर मात्र रहेको छ।

