काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा लामो समय बितिसक्दा पनि नेपाल सरकार अर्थ मन्त्रालयले अध्यक्ष चयन गरेर पठाउन सकेको छैन । नेप्सेमा अर्थ मन्त्रालयबाट सहसचिव अध्यक्ष रहने व्यबस्था रहेको छ । अर्थमन्त्रालयका वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका प्रमुख सेवन्तक पोखरेलले नेप्सेमा अध्यक्ष नहुँदैमा खासै काम नरोकिएको प्रतिक्रिया दिए । यद्यपी अर्थमन्त्रालयले यसै महिना भित्र अध्यक्ष पठाउने उनले दाबी समेत गरे ।
यस अघिका अध्यक्ष शोभाकान्त पौडेल महालेखा नियन्त्रकको जिम्मेबारीमा सरुवा भएका छन् । नयाँ आर्थिक वर्ष लाग्दै गर्दा नेप्सेले नीति तथा कार्यक्रम पारित गर्नुपर्ने हुन्छ । तर लामो समय देखि नेप्से अध्यक्ष विहिन हुँदा नेप्सेले निति तथा कार्यक्रम ल्याउन सकेको छैन ।
त्यसैगरि यस अघि तयार भएको एसएमई प्लेटफर्म पनि अन्यौलमा नै रहेको छ । अर्थ मन्त्रालयस्थित स्रोतले दिएको जानकारी अनुसार अर्थ मन्त्रालयका सह–सचिबहरुमा को अध्यक्ष बनेर जाने ? भन्ने हानथापकै कारण अर्थमन्त्रीले नेप्सेमा अध्यक्ष नियुक्त गर्न सकेका छैनन् ।
पछिल्लोपटक नेप्सेको पुनर्संरचना तथा नयाँ स्टक एक्सेचेञ्जको विषयले नेप्सेको अध्यक्षको पद पनि पेचिलो बन्दै गएको छ । त्यसैगरि, नेप्सेको अध्यक्ष बेला मौकामा विदेश भ्रमण पनि जान पाउने भएका कारण पनि नेप्सेको अध्यक्ष पद पेचिलो बन्दै गएको छ ।
यसअघि धितोपत्र बोर्डका अध्यक्ष एक वर्ष भन्दा बढी र नेप्सेको सीईओ ६ महिना खाली रहेको थियो । अहिले नेप्सेको अध्यक्ष पद पनि लामो समयदेखि खाली रहदै आएको छ ।