काठमाण्डौं । केही लगानीकर्ता संघका नेताहरुले पुनः ब्रोकरलेस सेवाको माग गरेका छन् । राजधानीको एक लगानीकर्ता संघका नेता समेत रहेका ति लगानीकर्ताले बिजशालासँग आज धेरैजसो लगानीकर्तालाई ब्रोकरहरुले जबरजस्ति सेयर बेच्न लगाएको बताए ।
‘यो अवस्था देख्दा त बजार आज रातोमा नै बन्द हुन्छ भन्ने थियो, ती लगानीकर्ताले भने, ‘बेला–बेला ब्रोकरले लगानीकर्तालाई निकै पीडा दिएका छन् । एक बराबर ४ कोल्याट्रल पनि दिएका छैनन् । धितोपत्र विनियमावलीमा भएको सुबिधा पनि भीख मागे झै माग्नु परेको छ । कमोडिटिज बजार र पूँजीबजार भनेको लिभरेजमा नै चल्ने हो । हामी ब्रोकरदेखि निकै दिक्क भएका छौं ।’
उनले थप्दै भने, ‘अब पहिले हामी हाम्रै संघहरु भित्र यस विषयमा गम्भिर छलफल गर्छौ । त्यसपछि धितोपत्र बोर्ड र नेप्सेसँग पनि यो विषयमा छलफल गर्नेछौ । लगानीकर्ताहरुलाई सामान्य लिभरेज पनि दिन सक्दैनन् र सधैं दबाब दिने हो भने ब्रोकर किन चाहियो ? त्यसैले अब ब्रोकरलेस सेवा सुरु गर्नुपर्छ ।
के भन्छन् ब्रोकर ?
तर ब्रोकरहरु भने लगानीकर्ताको आरोप स्विकार गर्न तयार छैनन् । राजधानीकै एक ब्रोकरले भने ‘हामीले संधै लगानीकर्ता साथीहरुलाई त्यसरी पीडा दिएका छैनौं । ३६५ दिनमा ४ दिन हामीलाई पनि साथीहरुले बुझिदिनु पर्छ । अहिलको समय असारको क्लोजिङको समय हो । हामीले पनि बैंकको हिसाब मिलाउनु पर्छ ।’
किन देखियो समस्या ?
कारोबारीको बीच लेनदेनको विषयमा मध्यस्तता गर्न नै ब्रोकर राखिएको हो । अर्को शब्दमा भन्नुपर्दा किन्नेले सेयर र बेच्नेले पैसा समयमा नै भुक्तानी गरोस् भनेर नै ब्रोकर राखिएको हुन्छ । विश्वका सेयर बजारमा पैसाको समस्या समधानको लागि सेटलमेन्ट ग्यारेन्टी फण्ड हुन्छ ।
जहाँ ब्रोकरहरुलाई कुनै भुक्तानी आवश्यक परेमा निश्चित ब्याजमा उक्त फण्ड प्रयोग गर्न सक्छन । यस्तै, केही गरि बेचेको सेयर लगानीकर्ताबाट भुक्तानी हुन नसकेको अवस्थामा अक्सन बजारको व्यबस्था हुनेगर्छ ।
तर बिडम्बनाको विषय नेपालको ३१ वर्षको इतिहासमा यी दुवै विषय ओझेलमा पर्दा लगानीकर्ता र ब्रोकरबीच बेला–बेला नोकझोक चल्दै आएको छ । हाल ब्रोकरहरुसँग सेटलमेन्ट फण्डका लागि झण्डै १० करोड रुपैयाँ निष्क्रिय रहेको ब्रोकरहरुले बताउँदै आएका छन् ।