काठमाण्डौ । भारतको नेशनल स्टक एक्सचेन्ज (एनएसई)ले सन् २०२५ को पहिलो ६ महिनामा ठूलो उपलब्धि हासिल गरेको छ। यस अवधिमा, नेशनल स्टक एक्सचेन्ज ४७ हजार करोड भारुको फण्ड अफरका साथ ग्लोबल आईपीओहरूको सूचीमा चौथो स्थानमा रहेको छ।
एनएसइ ७३ वटा आईपीओ जारी गर्दै संख्याको आधारमा सूचीको शीर्ष स्थानमा छ । अमेरिकी सेयर बजार नास्डक ६६ आईपीओसहित दोस्रो स्थानमा छ । एस एण्ड पी ग्लोबल मार्केट इन्टेलिजेन्सको रिपोर्ट अनुसार पहिलो ६ महिनामा विश्वभर आईपीओ मार्फत कुल ५८.२ बिलियन डलर उठाइएको छ। जुन सन् २०२४ को तुलनामा ८.६ बिलियन डलरले बढी हो । यो अवधिमा अमेरिकामा आईपीओबाट प्राप्त रकम ५६ प्रतिशत र एशिया प्यासेफिकबाट ४४ प्रतिशतले बढेको छ ।
यो वर्षको जुन ३० सम्ममा विश्वका सबैभन्दा ठूलो आईपीओमा अमेरिका, भारत, जापान, साउदी अरेबिया र स्वीडेनका रहेका छन् ।
विश्वभरको आईपीओमा भारतको एनएसईको हिस्सा ९ प्रतिशत छ। यस सूचीमा नास्डक गलेबल मार्केट, न्यूयोर्क स्टक एक्सचेञ्ज र नास्डक ग्लोबल सेलेक्ट मार्केट सूचीको शीर्ष स्थानमा छन्। यी एक्सचेन्जहरूले आईपीओमार्फत ४ लाख करोड रुपैयाँ उठाएका छन् । जुन जम्मा गरिएको विश्वभरको कुल रकमको ४७ प्रतिशत हो।
एस एण्ड पी ग्लोबल मार्केट इन्टिलिजेन्सका अनुसार सन् २०२५ को पहिलो ६ महिनामा भारतको एनएसई–बीएसईमा ११९ वटा आईपीओ आएका थिए । यसबाट ५१ हजार १५० करोड भारु उठेको छ । २०२४ को सोही अवधिमा १५७ आईपीओ मार्फत ३७ हजार ६८२ करोड रुपैयाँ उठाइएको थियो।