काठमाण्डौ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आज रु १० अर्ब बराबरको ‘विकास ऋणपत्र– २०८५’ बिक्री गर्ने भएको छ । कार्यालयले तीन वर्षे अवधिको सो ऋणपत्र बोलकबोल प्रक्रियाका माध्यमबाट बिक्री गर्न लागेको हो ।
उक्त ऋणपत्रको बोलकबोल आज बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म हुनेछ । यसको ब्याज अर्धवार्षिक रुपमा भुक्तानी हुनेछ र साँवा भुक्तानी भने २०८५ साउन ८ गते हुनेछ ।
इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीका रुपमा सहभागी हुन सक्नेछन् । प्रतिस्पर्धी वा अप्रतिस्पर्धी बोलदातालाई क्रमशः ८५ र १५ प्रतिशत अर्थात रु आठ अर्ब ५० करोड र रु एक अर्ब ५० करोड छुट्याइएको छ । अप्रतिस्पर्धी बोलदातालाई छुट्याइएको रकमको लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलदातालाई बिक्री गरिने छ । अप्रतिस्पर्धी बोलदातालाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलदातालाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँट गरिनेछ ।
सो ऋणपत्रको नेपाल स्टक एक्सचेञ्जमा दोस्रो बजार कारोबार हुनेछ । यो ऋणपत्र धितो राखी कर्जा लिन वा दिन समेत पाइनेछ ।
सरकारले चालु आवमा ३ खर्ब ६२ अर्बबराबरको आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ ।