काठमाण्डौ । सधैंको साता जस्तै आज पनि हामीले लगानीकर्ताको मनोविज्ञान बुझ्ने नियमित स्तम्भ ‘ग्राउण्ड जिरो’लाई निरन्तरता दिएका छौं । यसै सिलसिलामा आज हामीले पुतलीसडक आसपासका केही ब्रोकर हाउसहरुमा पुगेर लगानीकर्ताहरुको बिचार बुझ्ने कार्यलाई निरन्तरता दिएका छौं । आज सबैभन्दा पहिले हामी स्टार मलमा रहेको त्रिशक्ति सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ४८) मा पुगेका थियौं ।
अघिल्ला कारोबारहरुमा जस्तै आज पनि कारोबारको पहिलो प्रहरमा बजारमा सामान्य अकंले सुधार भएको थियो । ब्रोकर हाउसमा लगानीकर्ताहरु आउने क्रम जारी थियो । यसै सिलसिलामा डिस्प्ले हेर्दै एक लगानीकर्ताले भने, ‘होइन साथीहरु, यो बजार के हुने हो ? आज के होला ?’
उनलाई जबाफ दिँदै एक लगानीकर्ता भने, ‘बजार जे सुकै होस् यो साहस उर्जा कम्पनी बलियो छ । बोनस पनि दिन्छ । हकप्रद पनि आँउदै छ । अहिले यतै लाग्नुहोस् न ।’ बिहानको पहिलो प्रहरमा आज एचडीएल कम्पनीको सेयर निक्कै चम्केको थियो । यहि प्रसंगलाई जोड्दै एक लगानीकर्ताले भने, ‘लौ ! आज त एचडिएलले सर्किट हान्छ जस्तो छ । खेलाडीको खेल होकि, केही छ यो कम्पनीमा ?’
उनी सँगै बसेका लगानीकर्ताले जवाफ फर्काए, ‘रिपोर्ट त राम्रै आएको छ । होला नि केही भित्रि विषय ।’ यसै ब्रोकरमा भेटिएका केही लगानीकर्ताले आफ्ना साथीहरुलाई दीर्घकालका लागि साहस उर्जा, युनिभर्सल पावर तथा राधी विद्युत ,सानीमा बैंक र एभरेष्ट बैंक जस्ता कम्पनीमा लगानी गर्दा उत्तम हुने सुझाव दिएको समेत देखियो । यस बेलासम्म भित्ताको घडीमा दिनको १२ बजिसकेको थियो । बजार सामान्य अंकले तलमाथि गर्दै थियो ।
यहाँबाट हामी पुतलीसडकमा नै रहेको प्रिमियर सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ३२) मा पुग्यौं । यस ब्रोकरमा पनि लगानीकर्ता उपस्थिति राम्रै थियो । लगानीकर्ता उत्साहपूर्वक रुपमा बजार नियाल्न मस्त देखिन्थे । यस ब्रोकरमा भेटिएका केही लगानीकर्ताहरु भने बजार बढ्न नसकेकोमा चिन्तित देखिन्थे ।
यहाँ भेटिएका एक लगानीकर्ताले अहिले ठूला खेलाडी र प्राविधिक विश्लेषकहरु बजार नपसेकाले कारण नै बजार माथि जान नसकेको तर्क गरे । उनले थप्दै भने, ‘अहिले बैकको सेयर पनि माथि जान सकेनन् । साहस उर्जा पनि खासै माथि जान सकेन । कम्पनीले १५ प्रतिशत लाभांश र हकप्रद दिने भन्ने सुनिएको छ । जब राम्रो समाचार आउछ बजार घटिहाल्छ । माछापुच्छ्रे बैंक पनि खासै माथि जान सकेन ।’ उनी सँगै बसेका एक लगानीकर्ताले भने ‘ पीर नगर्नुहोस साथी ! हामीले त लगानी गर्ने हो । एक पटक बजार माथि गईहाल्छ नि ।’
यसबेलासम्म दिनको एक बज्दै थियो । बजारमा करिब ३ अर्बको सेयर कारोबार हुँदै थियो । लगानीकर्ताहरु आज आघिल्लो दिनको तुलनामा कारोबार बढ्ने अपेक्षा गर्दै थिए । यहाँबाट हामी नजिकै रहेको सेक्योर्ड सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ३६) मा पुग्यौं । यहाँ पनि लगानीकर्ताहरुको उपस्थिति सामान्य नै थियो । यहाँ भेटिएका केही लगानीकर्ताहरुले पनि एचडीएलको चर्चा गर्दै थिए ।
एक लगानीकर्ताले आज एचडीएलको राम्रो कारोबार भएको भन्दै अब कम्पनीको सेयरमूल्य कता लाग्ला भन्ने जिज्ञाशा व्यक्त गरे । सँगैका लगानीकर्ताले भने, ‘यस वर्ष २५ प्रतिशत बनोस र १० प्रतिशत नगद भन्ने हल्ला छ है ! मैले सुनेको । होला नहोला तपाँइनै बुझ्नुहोस ।’
यस्तै अर्का एक लगानीकर्ताले अहिले बजार घटेता पनि दशैं अगाडी एकपटक बजार फर्कने अपेक्षा गरे । यहाँबाट हामी नजिकै रहेको प्राइमो सेक्युरिटिज (स्टक ब्रोकर नम्बर १६) मा पुग्यौं । यस बेलासम्म दिनको २ बज्दै थियो । बजार बिस्तारै घट्ने क्रम जारी थियो ।
यतिकैमा एक लगानीकर्ताले अहिले बजार घट्नुको मुख्य कारण उधारो कारोबार भएको दाबी गरे । ‘यो बजारमा उधारो सेयर किन्नु पनि सहिद हुनु नै रहेछ साथीहरु ! किन्यो कि घटिहाल्छ । मलाई मात्रै हो कि अरुलाई पनि यस्तै हुन्छ ?’ ब्रोकहर हाउसमा यस्तै गल्फति चल्दै थिए । बजारमा बिक्री दबाब पर्दै थियो । हामीले यो साताको लागि हाम्रो नियमित स्तम्भलाई यहि बिट मार्ने निधो गर्यौं ।