काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलको रहस्यमय मौनताको विषयमा प्रश्नहरु उठ्न थालेका छन् । कतिपय नागरिकले पौडेलकै अवस्थाको विषयमा समेत सोधीखोजी गर्दै सामाजिक सञ्जालका भित्ताहरुमा असरल्ल पोष्टहरु हालिरहेका छन् ।
सामाजिक सञ्जालहरुमा विश्लेषक, वरिष्ठ पत्रकार तथा बुद्धिजीवीहरुले राष्ट्रपति पौडेललाई नेपाली सेनाले नजरबन्दमा राखेकोसम्मको आशंका गरिरहेका छन् ।
विश्लेषक र बुद्धिजिवीहरुले सामाजिक सञ्जाल एक्स, फेसबुक लगायतमा स्टाटस हाल्दै राष्ट्रपतिले यस्तो बेलामा बोल्नुपर्ने माग गरिरहेका छन् ।

वरिष्ठ पत्रकार किशोर नेपालले राष्ट्रपति पौडेलको उपस्थितिमा भदौ २४ गते भएको सुरक्षा प्रमुखहरुको बैठकमा नेपाली सेनाका प्रधान सेनापतिले राष्ट्रपतिसँग राजीनामा दिन आग्रह गरेका विषय बाहिर ल्याएका छन् । ‘....राजीनामा दिने आग्रह गर्दै भनेछन्-बाँकी हामी सम्हाल्छौं । राष्ट्रपतिको जवाफ थियो- म राजीनामा दिँन्न, बरु तपाईहरु मलाई मारिदिनुस् र आन्दोलनकारीमाथि मेरो हत्याको आरोप लगाइदिनुस् । त्यसपछि जे मन लाग्छ, त्यो गर्नुहोस् ।’-किशोर नेपालले लेखेका छन् ।
उनले गरेको यो ट्वीटमा धेरैले यदि यो विषय सत्य हो भने त्यो गम्भीर रहेकोसम्मको विश्लेषण गर्न भ्याएका छन् । कतिपयले भित्रभित्रै राजसंस्था ब्यूँताउने तयारी भइरहेकोसम्मको अड्कलबाजी गर्न भ्याएका छन् ।
सामाजिक सञ्जाल हेर्दा धेरैले केही गडबडीको आशंकासहित राष्ट्रपति सार्वजनिक हुनुपर्ने वा उनलाई सार्वजनिक गर्नुपर्नेसम्मको माग राखिरहेका छन् ।

वरिष्ठ लेखक तथा विश्लेषक खगेन्द्र संग्रौलाले लेखेका छन्–‘जेनजीले सुरक्षा विषयमा सेना प्रमुखसँग, राजनीतिक विषयमा राष्टपतिसँग विमर्श गर्नुपर्ने होइन र ? सेना प्रमुख मृत वंशतन्त्रलाई सत्ता सुम्पिने प्रपञ्चमा लाग्या छन् भन्ने गाइँगुइँ सुनियो । के जेनजी युवकहरुको आत्मबलिदान सत्ता मृत वंशतन्त्रलाई सुम्पिने हो र ? प्रश्न जेनजी प्रतिनिधिहरुलाई ।’

संविधानसभा सदस्य तथा भारतका लागि पूर्व नेपाली राजदूत निलाम्बर आचार्यले त सोझै राष्ट्रपतिको खोजी गर्दै ट्वीट गरेका छन् । उनले भनेका छन्–‘राष्ट्रपति कहाँ हुनुहुन्छ ? नागरिक सरकारबारे वार्ता उहाँको उपस्थितिमा हुँदा राम्रो होला ।’

पत्रकार समा थापाले लेखेकी छिन्–‘देशमा संविधान छैन ? राष्ट्रपतिले अग्रसरता किन देखाइरहेका छैनन् ? हामीले व्यवस्था नै मास्न लागेको हो ?’

अर्का पत्रकार प्रकाश तिम्सिनाले सेनापतिसँग दुर्गा प्रसाईंले गरेको भेटेका तस्विर राखेर लेखेका छन् –‘निको देखिरहेको छैन । आफ्नै परमाधिपतिको निवास सुरक्षा दिन नसक्नु, राज्यको महत्वपूर्ण भवन जलिरहँदा जोगाउन नसक्नु र रक्षाको पहल समेत नगर्नु, सबै ध्वस्त भइसकेपछि बल्ल राति १० बजे सडकमा निस्किनु, राष्ट्रपतिले गर्नुपर्ने काम सेनाले गर्न थाल्नु ।’

कुल रिम्स नामको ट्वीटर ह्याण्डलबाट पनि राष्ट्रपतिसँग सम्बन्धित ट्वीट भएको छ–‘राष्ट्रपतिले आदेश दिएर नै सेनाले यी सबै काम गरिरहेको छ भन्ने कुरामा जेनजी लगायत सम्पूर्ण आम नेपाली विश्वस्त छन् । अहिलेलाई आम नेपालीहरु राष्ट्रपतिलाई सुन्न आतुर छन् । राष्ट्रपतिले जनचाहना मनन गरुन् ।’

रमेश पराजुलीले त आफ्नो ट्वीटर(एक्स) ह्याण्डलमा लेखेका छन्–‘राष्ट्रपति रामचन्द्र पौडेललाई सार्वजनिक गर ।’

यही क्रममा पत्रकार केपी ढुंगानाले फेसबुकमा लोकप्रिय जेनजी ग्रुप नामको ग्रुपको इतिहास खोतलिदिएका छन् । ‘शिवसेना नेपाल, पशुपतिनाथ नेपाल हुँदै २०२५ जुलाई १२ मा पुनः राजतन्त्र हाम्रो आस्था र भरोसा राखिएको थियो । तर ८ सेप्टेम्बरमा यसको नाम जेनजी नेपाल राखिएको थियो ।’उनले ट्वीट गरेका छन् ।