काठमाण्डौ । इजरायलको सेयर बजार ‘तेल अभिभ स्टक एक्सचेञ्ज’ले नयाँ रेकर्ड कायम गरेको छ । आइतबारको कारोबारमा तेल अभिभमा कारोबार भएका कम्पनीहरुको सेयरमूल्य रेकर्डतोड स्तरमा पुगेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा दुई वर्षदेखि जारी युद्ध अन्त्य गर्ने र बाँकी रहेका बन्दीहरुलाई इजरायलमा फिर्ता गराउने योजना रहेको बताएसँगै तेल अभिभमा कारोबार गर्ने अधिकांश स्टक हालसम्मकै उच्च कायम भएका हुन् ।
गत मंगलबार पछि पहिलोपटक खुलेको बजारमा ब्लूचिप तेल अभिभ ३५ इन्डेक्स १.४ प्रतिशतले बढ्यो । यस्तै ब्रोडर टीए–१२५ पनि १.६ प्रतिशतले बढ्यो । रियल स्टेट इन्डेक्स ३.३६ प्रतिशतले बढेको छ ।
राष्ट्रपति ट्रम्पको अभिव्यक्ति दिएयता तेल अभिभ ३५ इन्डेक्स ५.२ प्रतिशत र तेल अभिभ १२५ इन्डेक्स ५.८ प्रतिशतले बढिसकेको छ । यद्यपी सबै स्टकमा भने र्याली देखिएको छैन । नाइस नामक कम्पनीको सेयरमूल्य ५.८० प्रतिशत र एरीटीको सेयरमूल्य ४.१४ प्रतिशतले घटेको छ ।