काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले विभिन्न कोषमा रहेको रकम वाणिज्य बैंक, विकास बैंक र राष्ट्रिस्तरका वित्त कम्पनीहरूको ३६६ दिने निक्षेपमा २ अर्ब ७१ करोड ८५ लाख रुपैयाँ लगानी गर्न लागेको हो । बैंकले यो रकम २०२५ नोभेम्बर २३ देखि २०२६ नोभेम्बर २३ सम्म अर्थात ३६६ दिनको मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो ।
बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा २ अर्ब १७ करोड ४९ लाख रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरूमा ४० करोड ७७ लाख र ‘ग’ वर्गका वित्त कम्पनीहरूमा १३ करोड ५९ लाख रुपैयाँ लगानी गर्न बोलपत्र आह्वान गरेको छ ।
इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले आफूले लिन चाहेको रकम तथा उक्त रकममा प्रदान गर्ने ब्याजदरसमेत उल्लेख गरी कात्तिक २३ गतेभित्र ब्याजदर सम्बन्धी प्रस्ताव पेस गनुपर्ने राष्ट्र बेंकले जनाएको छ ।
मुद्दती निक्षेप लिनका लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा गरेको हुनुपर्ने, बैंकबाट तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको तथा निष्क्रिय कर्जा कुल कर्जा सापटको ८ प्रतिशतभन्दा कम भएको हुनुपर्ने छ ।

