काठमाण्डौ । वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०८२–८३ को पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेका छन् ।
प्रकाशित वित्तीय विवरण हेर्दा धेरै बैंकको खूद नाफा घटेको छ । केही स्थिर अवस्थामा छन् भने विषम परिस्थितिमा पनि कतिपयले नाफा बढाएका छन् ।
पहिलो त्रैमास(साउन, भदौ र असोज)मा सबैभन्दा धेरै नाफा ग्लोबल आईएमई बैंकले कमाएको छ । यो बैंकको खूद नाफा १ अर्ब ८५ करोड रुपैयाँ रहेको छ । चुक्तापूँजीको हिसाबले समेत ठूलो रहेको बैंकको नाफा पनि सोही अनुसार बढ्दै गएको यो आँकडाले देखाउँछ ।
यस्तै, नवील बैंक १ अर्ब ७५ करोड नाफा कमाउँदै यो सूचीको दोश्रो स्थानमा छ भने तेश्रो स्थानमा १ अर्ब २५ करोड नाफासहित प्राइम बैंक रहेको छ ।
एभरेष्ट बैंक १ अर्ब १७ करोड नाफासहित चौथो स्थानमा छ भने कुमारी बैंक १ अर्ब ५ करोड नाफासहित पाँचौ स्थानमा आइपुगेको छ ।
कुल बीस वाणिज्य बैंकमध्ये पहिलो त्रैमासमा सिटिजन्स बैंक घाटामा गएको देखिएको छ भने कृषि विकास बैंक,नेपाल इन्भेष्टमेन्ट बैंक र एनआईसी एशिया बैंकको नाफा निकै न्यून छ।
अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा ग्रोथको हिसाबले राष्टिय वाणिज्य बैंकले २९५.७२ प्रतिशतले नाफा बढाएको छ ।
ग्लोबल आईएमई बैंकले समेत करिब २३ प्रतिशतले नाफा बढाएको छ । सानिमा बैंकले करिब ३४ प्रतिशतले नाफा बढाएको छ भने एनआईसी एशिया बैंकको नाफा कम भए पनि ग्रोथ भने १०.५३ प्रतिशतको देखिएको छ । एभरेष्ट बैंकको नाफा गत वर्षको तुलनामा ४.४७ प्रतिशतको बढोत्तरी देखिएको छ ।
अघिल्लो वर्षको समान अवधिको तुलनामा सिटिजन्स बैंक घाटामा पुगेको छ भने कषि विकास बैंकको नाफा पनि ९७ प्रतिशतले ओरालो लागेको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा पनि झण्डै ९७ प्रतिशत हाराहारीले नै घटेको छ । प्रभू बैंक, लक्ष्मी सनराइज बैंक, एनएमबि बैंक लगायतको नाफा पनि घटेको छ ।


