काठमाण्डौ । रिलायन्स स्पिनिङ मिल्सले पुस ७ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आम सर्वसाधारणका लागि ९ लाख २४ हजार ७६८ कित्ता सेयर जारी गर्न लागेको हो ।
कम्पनीले सार्वजनिक निष्काशन गरिने ११ लाख ५५ हजार ८६० कित्ता साधारण सेयरको ५ प्रतिशत अर्थात ५७ हजार ७८८ कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट भईसकेको, १० प्रतिशत अर्थात १ लाख १५ हजार ५४६ कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्कासन गरिएकोमा सो को प्रि–अलोटमेन्ट भईसकेको ५ प्रतिशत अर्थात ५७ हजार ७८८ कित्ता साधारण सेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरी बाँकी रहेको ९ लाख २४ हजार ७६८ कित्ता साधारण सेयरहरु सर्वसाधारणका लागि निष्कासन गर्न लागिएको हो ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यो आईपीओमा न्यूनतम ५० कित्ता र अधिकतममा २० हजार कित्ता सेयरका लागि आवेदन दिनु पर्नेछ ।
यसका साथै लगानीकर्ताले मेरो सेयरबाट समेत आवेदन दिन सक्नेछन्। यो आईपीओ निष्काशन बन्द छिटोमा पुस ११ गते र ढिलोमा पुस २१ गते हुनेछ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीले गत मंसिर २२ गतेदेखि पहिलो चरणअन्तर्गत उद्योग प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका लागि यसअघि आईपीओ जारी गरिसकेको छ ।

