काठमाण्डौ । नेपाल टेलिकमले मूल्य अभिवृद्धि सेवा (Value Added Services – VAS) अन्तर्गत सञ्चालन भइरहेका SMS तथा अन्य सेवाहरूको नियमन र नियन्त्रणमा कडाइ गरेको छ। टेलिकमले विभिन्न सेवा प्रदायकलाई SMS आधारित VAS सेवा सञ्चालन गर्न स्वीकृति दिएको भए पनि कुनै पनि सेवाग्राहीको व्यक्तिगत मोबाइल नम्बर तथा अन्य विवरण तेस्रो पक्षलाई उपलब्ध नगराइएको स्पष्ट पारेको छ।
नेपाल टेलिकमका अनुसार विभिन्न व्यवसायिक प्रयोजनका लागि बल्क SMS सेवा उपलब्ध गराइए पनि त्यसको दुरुपयोग हुन नदिन विशेष निगरानी गरिएको छ। जातीय, वर्गीय, धार्मिक, साम्प्रदायिक वा राजनीतिक भावनामा खलल पुर्याउने किसिमका सन्देश प्रवाह नगर्न सम्बन्धित सेवा प्रदायकहरूलाई कडा निर्देशन दिइएको टेलिकमले जनाएको छ।
यसैगरी, आगामी दिनमा समेत यस्ता प्रकृतिका सन्देश सर्वसाधारणको मोबाइल नम्बरमा प्रवाह नगर्न सबै सेवा प्रदायकलाई अनुरोध गरिएको छ। नेपाल टेलिकमले सेवाग्राहीको गोपनीयता र सामाजिक सद्भाव कायम राख्न आफू प्रतिबद्ध रहेको समेत स्पष्ट गरेको छ।

