काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडको १८ औं वार्षिक साधारण सभा बैंक सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ । आज सम्पन्न भएको सभाले सञ्चालक समितिले सिफारिस गरे बमोजिम आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ८ प्रतिशत बोनस सेयर तथा चुक्ता पूँजीको ०.४२१ प्रतिशत नगद लाभांश (बोनस सेयरको कर प्रयोजनका लागि) दिने प्रस्ताव अनुमोदन गरेको छ ।
यस्तै सभाले बैंकको सञ्चालक समितिमा निर्वाचन कार्यक्रम अनुसार सर्वसाधारण सेयरधनीहरुको तर्फबाट सञ्चालक पदमा वरिष्ठ आर्थिक पत्रकार डा. गजेन्द्र विष्टलाई निर्विरोध निर्वाचित गरेको छ । डा.बिष्टज्यू यस अघि पनि बैंकको सञ्चालक थिए ।
साधारणसभालाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सेयरधनीहरु लगायत सम्बन्धित सबैमा आभार व्यक्त गर्दै साधारण सभामा अध्यक्ष श्रेष्ठले बैंकले विगतमा झैं आगामी दिनहरुमा पनि बैंकको सेवा र शाखाहरुको सञ्जाल विस्तार गर्दै आफ्ना सेयरधनीहरुलाई यथोचित र समय सापेक्ष प्रतिफलको निरन्तरता दिने तथा ग्राहक केन्द्रित डिजिटल समाधान मार्फत बैंकको सेवा आधुनिक एवं सरल बनाउने प्रतिवद्धता समेत व्यक्त गरे ।

