काठमाण्डौ । चीनको केन्द्रीय बैंक (पिपुल्स बैंक अफ चाइना(पीबीओसी) ले जनवरी महिनामा पनि सुन खरिदलाई निरन्तरता दिएको छ। शनिबार सार्वजनिक गरिएको तथ्यांकअनुसार बैंकले लगातार १५औँ महिनासम्म सुन खरिद गरेको हो।
जनवरीको अन्त्यसम्म चीनको सुन भण्डारण ७४.१९ मिलियन फाइन ट्रोय औंस पुगेको छ, जुन अघिल्लो महिनाको ७४.१५ मिलियन औंसभन्दा बढी हो। यससँगै चीनको सुन भण्डारको कुल मूल्य पनि उल्लेखनीय रूपमा बढ्दै जनवरीको अन्त्यसम्म ३६९.५८ अर्ब अमेरिकी डलर पुगेको छ। अघिल्लो महिना यो मूल्य ३१९.४५ अर्ब डलर रहेको थियो।
राजनीतिक तथा आर्थिक जोखिमबाट जोगिने सुरक्षित लगानीका रूपमा लिइने सुनले जनवरीमा तीव्र सट्टेबाजीका कारण असाधारण उतार–चढाव देखायो। यस क्रममा सुनको मूल्य प्रतिऔंस करिब ५ हजार ६०० अमेरिकी डलरसम्मको ऐतिहासिक उच्च विन्दुमा पुगेको थियो।
तर जनवरीको अन्त्यतिर अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ) को आगामी अध्यक्षका रूपमा केभिन वार्शको नामांकन भएपछि सुनको मूल्यमा तीव्र गिरावट आयो। सोमबारसम्म सुनको मूल्य घटेर प्रतिऔंस ४ हजार ४०३.२४ डलरसम्म झरेको थियो। हाल अन्तर्राष्ट्रिय बजारमा सुन ४,९६६ डलर प्रतिऔंसमा कारोबार भइरहेको छ।
यसैबीच, चीनको कुल सुन उपभोग भने सन् २०२५ मा दोस्रो वर्ष लगातार घटेको छ। चीन गोल्ड एसोसिएसनका अनुसार सुन उपभोग ३.७५ प्रतिशतले घट्दै ९५० मेट्रिक टनमा सीमित भएको छ।
तर सुरक्षित लगानीको रूपमा लिइने सुनका बार र सिक्काको खरिद भने उल्लेखनीय रूपमा बढेको छ। सन् २०२५ मा यस्ता खरिद ३५.१४ प्रतिशतले वृद्धि भई कुल सुन उपभोगको आधाभन्दा बढी हिस्सा ओगटेका छन्।

