ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–७ मा स्थानीय बासिन्दाले मतदान बहिष्कार गरेका छन्। बिहान १० बजेसम्म पनि कुनै मतदाता मतदान गर्न केन्द्रमा नपुगेको प्रशासनले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रान्तीका अनुसार मानेभञ्ज्याङ–७ स्थित शहीद स्मृति आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा अहिलेसम्म एक मत पनि खस्न सकेको छैन।
उक्त केन्द्रमा ७०१ मतदाता रहेका भए पनि मतदान प्रक्रिया प्रभावकारी रूपमा सुरु हुन सकेको छैन।
सीडीओ मंग्रान्तीले भने, “अहिलेसम्म कुनै पनि मतदाता मतदानका लागि केन्द्रमा आउनुभएको छैन, एक मत पनि खसेको छैन।”
स्थानीयले प्रादेशिक अस्पताल निर्माणको माग पूरा नभएको भन्दै आक्रोश व्यक्त गर्दै मतदान बहिष्कार गरेका हुन्। उनीहरूले अस्पताल निर्माणको माग सम्बोधन नगरेसम्म मतदानमा सहभागी नहुने अडान लिएका छन्।

