काठमाण्डौ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको पक्राउपछि राजधानी काठमाडौंको अवस्था शनिबार तनावग्रस्त बनेको छ। ओलीको गिरफ्तारीको विरोधमा सडकमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच काठमाडौं जिल्ला अदालत अगाडि झडप भएको छ।
माइतीघर मण्डलाबाट नयाँबानेश्वरतर्फ अघि बढ्न खोजेका प्रदर्शनकारीलाई प्रहरीले बबरमहलस्थित जिल्ला अदालत अगाडि रोकेको थियो। सो क्रममा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच ठेलमठेल हुँदै झडप भएको हो।
ओली पक्राउको विरोधमा एमालेका २३ वटा जनसंगठनहरूले एकीकृत रूपमा माइतीघर क्षेत्रमा प्रदर्शन गरिरहेका छन्। निषेधाज्ञा तोड्दै प्रदर्शनकारी अघि बढ्न खोजेपछि प्रहरीले धरपकड समेत सुरु गरेको छ।
झडप र धरपकडपछि माइतीघर–बबरमहल–नयाँबानेश्वर आसपासको क्षेत्र अहिले अत्यन्तै तनावग्रस्त बनेको छ। सुरक्षा निकायले स्थिति नियन्त्रणमा लिन थप बल परिचालन गरेको जनाएको छ।

