काठमाण्डौ । पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ले नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको आर्थिक सुधार अभियानलाई खुलेर समर्थन गर्दै त्यसलाई “सही दिशामा अघि बढेको कदम” बताएका छन्। सामाजिक सञ्जालमार्फत उनले आफूले अघि सारेको सुधारको रोडम्यापलाई वाग्लेले निरन्तरता दिएको भन्दै प्रशंसा गरेका हुन्।
पुनले ‘उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग’मार्फत प्रस्तावित संरचनात्मक सुधारहरू कार्यान्वयन गर्ने वाग्लेको निर्णयलाई अर्थतन्त्र सुधारतर्फको ठोस संकेतका रूपमा व्याख्या गरेका छन्। उनले आफ्नो कार्यकालमा आर्थिक वर्ष ०८१/०८२ को बजेटमार्फत उच्च आर्थिक वृद्धि हासिल गर्न नयाँ चरणको सुधार कार्यक्रम अघि बढाउने उद्देश्यले उक्त आयोग गठन गरेको स्मरण गराएका छन्।
रामेश्वर खनालको नेतृत्वमा गठित आयोगले लगानीमैत्री वातावरण बनाउन अवरोध मानिएका १५ वटा ऐन खारेज र राजश्व अनुसन्धान विभाग पुनर्संरचना/खारेजीको सुझाव दिएको थियो। पदभार ग्रहण गरेलगत्तै अर्थमन्त्री वाग्लेले ती सिफारिस कार्यान्वयन गर्ने निर्णय लिएका थिए।
पुनले उक्त निर्णयप्रति धन्यवाद दिँदै “नीतिगत निरन्तरता नै आर्थिक स्थायित्वको आधार हो” भन्ने सन्देश दिएका छन्। साथै, पूर्वअर्थमन्त्री तथा सांसदको हैसियतमा मुलुकको आर्थिक सुधार र विकासका लागि सरकारका सकारात्मक पहलमा आफू सधैं साथ रहने प्रतिबद्धता पनि जनाएका छन्।
यसले राजनीतिक दलबीच आर्थिक एजेन्डामा सहकार्यको संकेत दिएको विश्लेषण गरिएको छ।


