काठमाण्डौ । मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका बीच चीनले सबै पक्षलाई तत्काल सैन्य गतिविधि रोक्न आग्रह गरेको छ। यो आह्वान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरुद्ध आगामी साताहरुमा ठूलो हमला गर्ने चेतावनी दिएपछि आएको हो।
चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले पत्रकार सम्मेलनमा सैन्य समाधानले समस्या समाधान नगर्ने र यसले क्षेत्रीय अस्थिरता झन् बढाउने चेतावनी दिइन्। उनले सबै पक्षलाई तत्काल सैन्य कारबाही बन्द गर्न आग्रह गरिन्।
चीनले विशेषगरी स्ट्रेट अफ हरमुज क्षेत्रमा जहाज आवागमनमा आएको अवरोधप्रति चिन्ता व्यक्त गरेको छ। उक्त जलमार्ग विश्व ऊर्जा आपूर्तिका लागि अत्यन्त महत्वपूर्ण मानिन्छ। चिनियाँ पक्षले यस क्षेत्रमा उत्पन्न अवरोधको प्रमुख कारण अमेरिका र इसराइलद्वारा गरिएको सैन्य गतिविधि भएको आरोप लगाएको छ।
यसैबीच, अमेरिकी राष्ट्रपति ट्रम्पले बुधबार करिब १९ मिनेट लामो सम्बोधन गर्दै इरानमाथि कडा चेतावनी दिएका छन्। उनले अमेरिका निकट भविष्यमा ठूलो सैन्य कारबाही गर्न तयार रहेको र त्यसले इरानलाई “पाषाण युगमा पुर्याउने” बताएका छन्।
विश्लेषकहरूका अनुसार यस्तो अभिव्यक्तिले मध्यपूर्वमा द्वन्द्व चर्किने जोखिम बढाएको छ, जसको असर विश्व अर्थतन्त्र, ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय सुरक्षामा पर्न सक्ने देखिन्छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।